१२ असार २०८३, शुक्रबार | June 26, 2026

व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाख बचत गर्छन् महतो



बरहथवा । सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौं, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् । उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारीखेती गर्ने किसानहरूसमेत बढिरहेका छन् ।

जिल्लाको लालबन्दी, हरिवन, बाग्मती, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा ठूलो क्षेत्रफलमा, आलु, गोलभेँडा, बोडी, भिन्डी, भान्टा, काउली, बन्दा, खोर्सानी, परबरलगायत तरकारी उत्पादन हुँदै आएको छ । यसले किसानहरूको आयआर्जनमा समेत ठूलो टेवा पुगेको छ ।

लालबन्दी नगरपालिका-१०, हिरापुरका तरकारी किसान सीयाशरण महतो व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्ने अवस्था रहेको बताउँछन । उमेरले ३५ लागेका महतोले २० वर्षको उमेरदेखि नै व्यावसायिक तरकारीखेतीमा लागेदेखि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेको सुनाए । बुबा हजुरबुबाबाट तरकारीखेती गर्न सिकेका महतोले आधुनिक खेती प्रणाली भने आफैँले छ महिने कृषि ‘जेटिए’ कोर्ष गरेपछि सिकेका हुन । उनले मौसमीभन्दा बढी बेमौसमी तरकारीखेती गर्दै आएको र यसले मौसमी खेतीभन्दा १० गुणासम्म बढी आम्दानी हुने उनले सुनाए ।

“हाल चार बिगाहा खेतमा तरकारी गरिरहेको छु । त्यसमध्ये २५ कट्ठामा गोलभेँडा, सात कट्ठामा हरियो सिमी र आठ कट्ठामा भिन्डी लगाएको छु । यस सिजनको अन्तिममा निस्कने गरी १४ कट्ठा खेतमा कविता जातको टमाटर रोप्ने योजनासहित बेर्ना उत्पादन गरिरहेको छु”, महतोले भने ।

सुरुमा पढाइपछिको फुर्सदको समयमा बुबाआमालाई खेतीमा सघाउने गर्दागर्दै तरकारीखेती गर्न सिकेको उनले सुनाए । “पहिला बाउबाजेले गरेको देखेरै सिकेको हो,” उनले भने, “पढाइबाट फुर्सद हुने बित्तिकै आमाबुबाले खेतमा काम लगाउनु हुन्थ्यो । पछि बुबाले एउटा छोराले कम्तीमा जेटिए पढे हुन्थ्यो भन्ने धारणा राख्नुभयो । आफूलाई पनि खेतीपातीतर्फ लगाव बढ्यो यतै लागियो । परिवारसँगै बसेर तरकारी बेचेर विदेशको भन्दा राम्रो आम्दानी भइरहेको छ ।”

महतोले तरकारीखेतीबाट भएको आम्दानीबाट दुई वर्ष पहिला मात्र पाँच कट्ठा खेत जोडेको सुनाए । “तरकारीखेती मेरो एक मात्र आय आर्जनको माध्यम हो । यसैबाट मैले पाँच कट्ठा खेत जोडेको छु । तरकारी बेचेर महिनाको रु दुई लाखसम्म आम्दानी गरेको अनुभव छ”, उनले भने, “गत वर्ष ‘अफ सिजन’मा सिमी निकाले दुईदेखि तीन हप्तामा रु ६०/७० हजारसम्म भयो । सबै तरकारी बेच्दा महिनाको रु दुई लाखसम्म आम्दानी भयो ।”

तरकारी खेतीबाट आफूले वर्षभरिमा मलखाद, बीउबिजन, औषधि, मजदुरी, ढुवानी खर्च सबै कटाएर रु १० लाखसम्म बचत गर्ने गरेको महतोका भनाइ छ । यसमा श्रीमतीले राम्रो सहयोग गरिरहेको उहाँको भनाइ छ । मौसम र मूल्य सधैँ एकनास नरहने भएकाले आम्दानी तलमाथि भइरहने बताउने महतोले यसै कमाईबाट एक छोरा र एक छोरीलाई राम्रो शिक्षा दिनुका साथै परिवारको लालनपालन भइरहेको उल्लेख गरे ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार सर्लाहीमा १७ हजार ६६२ परिवारले तीन हजार ८४२ दशमलव सात हेक्टर क्षेत्रफलमा विभिन्न तरकारी खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी जिल्लाको लालबन्दीस्थित थोक तरकारी तथा कृषिउपज सङ्कलन केन्द्रमा जम्मा गरेर देशका अन्य सहरमा निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ७ : ४६ बजे

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको

रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार यी हुन् (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनअन्तर्गत निर्वाचित ९९

घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध

बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो)

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक साताको म्याद

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी