काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बिहीबार सुनुवाइपछि जिल्ला अदालत काठमाडौंले गरेको थुनानिर्देशन बदर गर्दै महरालाई धरौटीमा छाड्ने निर्णय सुनाएको हो ।
यसअघि असोज २९ मा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा थुनामा थिए । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको बिगो मागदाबी सहित मुद्दा दर्ता गरेको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको थियो । दुबईबाट आएका इलेक्ट्रोनिक सिगरेट (भेप) मा करिब ९ किलो सुन लुकाएर तस्करी गरिएको प्रकरणमा उनिमाथि मुद्दा दायर गरिएको थियो । यो मुद्दामा जिल्ला अदालतले थुनानिर्देशन दिए पनि उच्च अदालतले उल्ट्याएपछि महरालाई ठूलो राहत मिलेको छ ।
सीआईबीका अनुसार चिनियाँ नागरिक लि हासोङ्गले भेपमा लुकाएर ल्याएको सुन तस्करीमा महराको संलग्नता देखिएको दाबी गरिएको छ । उनीविरुद्ध पूरक अभियोग समेत सोमबार दर्ता भएको थियो । यसअघि पनि महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका थिए ।
चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोप लागेपछि उनी फेरि अनुसन्धानको दायरामा परेका थिए । रवि लामिछाने गृहमन्त्री हुँदा पनि उनले यही मुद्दामा हाजिरी जमानी पाएर बाहिरैबाट प्रक्रिया सामना गरेका थिए ।
२०७९ सालमै भेपमार्फत सुन तस्करी प्रकरणमा अनुसन्धानमा तानिए पनि सत्ता-शक्तिको भरमा उनी बाहिरै रहेको आरोप आएसँगै यो प्रकरण फेरि सतहमा आएको हो ।


















प्रतिक्रिया