२४ मंसिर २०८२, बुधबार | December 10, 2025

बुटवलको प्रदर्शनीलाई उच्चस्तरमा लैजान उद्योगी-व्यवसायीको एकमत



बुटवल । रुपन्देहीका उद्योगी-व्यवसायी तथा विभिन्न सामाजिक संघ-सस्थाका प्रतिनिधिहरुले दशकौंदेखि स्थापित बुटवलको पुसे औद्योगिक प्रदर्शनी तथा महोत्सवलाई बलियो ब्राण्डका रूपमा जोगाएर अघि बढाउन रुपन्देही उद्योग सङ्घलाई सुझाव दिएका छन् ।

उनीहरूले प्रदर्शनी केवल व्यापारिक गतिविधि नभई बुटवल क्षेत्रको व्यावसायिक पहिचान र प्रतिष्ठासँग जोडिएको ब्राण्ड भएकाले यसलाई उच्चस्तरीय व्यवस्थापनसहित प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरे ।

सङ्घले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव बारे गरिएको अन्तरक्रियामा उनीहरूले प्रदर्शनीलाई अझ परिष्कृत बनाउने, दीर्घकालीन प्रभाव पर्ने कार्यक्रमहरू समावेश गर्ने तथा युवाहरूलाई उद्यमशीलतामा प्रेरित गर्ने वातावरण तयार गर्न आवश्यक व्यवस्था मिलाउन सुझाव दिए ।

सहभागीहरूका भनाइमा, बुटवलबाट सुरु भएको यो प्रदर्शनी अहिले देशभर परिचित ब्राण्ड बने पनि यस स्तरको प्रदर्शनी अरूले गर्न नसकेको भन्दै यसपटक आयोजकले अझै आकर्षक, अनुशासित र प्रभावकारी मोडेल प्रस्तुत गर्नुपर्ने औंल्याइयो ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ आयोजना हुने यस महोत्सवमा स्वदेशी उद्योग मात्र समावेश गर्ने संघको प्रतिबद्धतालाई सराहना गर्दै सहभागीहरूले किर्ते स्टल, म्याद गुज्रेका वस्तु तथा बाहिरबाट आयातित उत्पादनको बिक्री रोकिनुपर्ने सुझाव दिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नयाँतम नवप्रवर्तनमा जोडिएका युवा उद्यमीलाई समावेश गराएर बढ्दो निराशालाई चिर्नुपर्ने बताए । साथै, प्रदर्शनीको पुरानो ब्राण्डलाई जोगाउँदै व्यवस्थापनमा ध्यान दिएर संस्थागत सहकार्यबाट अघि बढ्नुपर्ने धारणा राखे ।

रुपन्देही व्यापार सङ्घका अध्यक्ष प्रकाश ढकालले प्रदर्शनीमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकताका साथ जोडिएको भन्दै प्याकेज योजना बनाउने र भारतसम्म प्रचार-प्रसार विस्तार गर्ने सुझाव दिए ।

बुटवल उद्योग व्यापार संगठनका अध्यक्ष विष्णु पाण्डेले स्वदेशी उत्पादन प्रवर्द्धनलाई कार्यान्वयनमै उतार्नुपर्ने बताए । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले प्रदर्शनी अवधिमा बस रुट निर्धारण गरेर अवलोकनकर्तालाई सहज बनाउने प्रतिबद्धता जनाए ।

पर्यटन व्यवसायी तथा मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले संघले मुटु अस्पताल स्थापना गरेर उदाहरणीय काम गरेको उल्लेख गर्दै अब पर्यटनमा दीर्घकालीन प्रभाव पार्ने योजना बनाउन आग्रह गरे ।

सिएनआईवाईईएफका राजन कसजूले प्रदर्शनी प्रवेशद्वारदेखि नै स्मार्ट र आधुनिक मोडेल अपनाउन सुझाव दिए । उपभोक्ता हित संरक्षण मञ्चका बुटवल अध्यक्ष समुन्द्र जिसीले म्याद गुज्रेका तथा अव्यवस्थित खाद्यवस्तु बिक्री गर्ने स्टललाई पूर्ण रूपमा निषेध गर्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले आफ्नो-आफ्नो क्षेत्रमा आधारित सुझाव प्रस्तुत गरेका थिए । संघले नेपालमै पहिलोपटक २०४५ सालमा औद्योगिक प्रदर्शनी आयोजना गरेको र २०५३ सालदेखि निरन्तर सञ्चालन गर्दै आएको जानकारी गराइयो ।

संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष दिलिप सापकोटाले प्रदर्शनी सबै संस्थाको साझा अभियान भएकाले एकरात बुटवल बसाउने तथा स्थानीय पर्यटकीय क्षेत्र घुमाउने योजना सबैको समन्वयमा अघि बढाउनुपर्ने बताए ।

उपाध्यक्ष हरिबहादुर खत्रीका अनुसार प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन र कृषि विषयअन्तर्गत छुट्टाछुट्टै १० वटा पेभिलियन रहनेछन् । उनले संघ-संस्थाबाट प्राप्त सुझावका आधारमा प्रदर्शनीलाई अझ व्यवस्थित बनाइने जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ६ : ५६ बजे

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

कालिका मानवज्ञान मावि बुटवलमा ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका खेलकुद कार्यक्रम सुरु

बुटवल । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित कालिका मानवज्ञान

बुटवलको प्रदर्शनीलाई उच्चस्तरमा लैजान उद्योगी-व्यवसायीको एकमत

बुटवल । रुपन्देहीका उद्योगी-व्यवसायी तथा विभिन्न सामाजिक संघ-सस्थाका प्रतिनिधिहरुले दशकौंदेखि

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन