खजुरा । बाँकेको खजुरामा आयोजना हुने आठौं अन्तर बिद्यालय मेयर रनिङशिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आज खजुरा ४ को मिनी रङ्गशालामा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक खजुरा गाउँपालिकाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिका संयोजक एवम खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले खजुरालाई खेलाडी उत्पादनको हव बनाउने गरि पालिकाले योजना बनाईरहेको जानकारी दिए । उनले पालिकाले कपड्डी खेललाई पालिका खेलका रुपमा निर्णय गरेको जनाउँदै त्यससँगै हरेक खेलमा खजुराले अब्बल खेलाडीहरु प्रस्तुत गरिरहेको बताए । जिल्ला, प्रदेश, राष्ट्रिय तथा ओलम्पिकमा समेत खजुराले उत्पादन गरेको खेलाडीहरु सहभागी भइरहेको बताउँदै उनले छिट्टै गोल्ड कपको समेत प्रतियोगिता आयोजना गरिने बताए ।
प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको ज्ञानोदय उच्च माविका प्राचार्य ऋषिराम सापकोटाले यसअघिका वर्षहरुमा भन्दा उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिताको तयारी गरिएको बताए । बिद्यालयकै तर्फबाट जाती जनजातीको संस्कृति र परम्परा प्रदर्शन हुनेगरि झाँकी तथा आकर्षक कवाजको प्रस्तुती रहने प्राचार्य सापकोटाले बताए ।
खजुरा खेलकुद विकास समितिका सदस्य सचिव छविलाल विष्टले एउटै पालिका भित्र ३ वटा मिनी रङ्गशाला रहेको उल्लेख गर्दै खजुरा खेलकुद क्षेत्रमा सधैं अब्बल भएको दाबी गरे । उनले प्रतियोगितालाई मर्यादीत बनाउन यसपटक विशेष कडाई गरिएको जानकारी दिँदै फर्जी खेलाडी समावेश भएको पाईए मेडल फिर्ता लिने सम्मको कारवाही हुने बताए ।
अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८२ को आठौं संस्करण ज्ञानोदय माध्यमिक विद्यालयको व्यवस्थापनमा खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजनामा भोलिदेखि २९ गतेसम्म डि गाउँ सिथ्त मिनी स्टेडियममा सञ्चालन हुँदैछ ।
आयोजकका अनुसार प्रतियोगितामा कुल खर्च रकम रु १३ लाख ४७ हजार ८०० हुने अनुमान गरिएको छ। जसमध्ये विद्यालयबाट दर्ता शुल्क रु २ लाख ७७ हजार १०० खेलकुद विकास समिति मेयर कप शीर्षकबाट रु १० लाख तथा ज्ञानोदय माध्यमिक विद्यालयबाट रु ७० हजार २०० खर्च ब्यहोर्ने गरि खेल संचालन हुने बताइएको छ ।
प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिक तर्फ एथलेटिक्स भलिवल र कपड्डी गरी जम्मा ३० इभेन्ट्स मा छात्रा २६८ छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी हुनेछन् । आधारभूत तह कक्षा ६ देखि ८ कम १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी हुने छन भने प्राथमिक तहमा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी हुनेछन्। छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता सञ्चालन र व्यवस्थापन हुनेछ ।
प्रतियोगिता संचालनमा स्थानीय सहभागिता :
यसवर्षको प्रतियोगितामा स्थानीयबासीको प्रत्यक्ष सहभागिता देखिएको छ । मिनी रङ्गशाला आसपासका स्थानीयले खेलाडीहरुलाई बस्ने र खाने व्यवस्था मिलाएका छन् । एक घर एक स्कुलका रुपमा स्थानीयबासीले खेलाडी विद्याथीहरुलाई खाना खुवाउने र बस्ने व्यवस्था मिलाएको प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।


















प्रतिक्रिया