बुटवल । रुपन्देहीका अग्रणी युवा नेता गोपाल रानाले नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेश भुगोल खुल्लाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
राजनीतिक स्थायित्व र समृद्ध मुलुक निर्माणका लागि नेकपा एमालेलाई अझ सशक्त बनाउन आवश्यक रहेको उल्लेख गर्दै रानाले त्यसका लागि सक्षम, इमानदार र प्रतिबद्ध नेतृत्वको खाँचो रहेको बताए । यही विश्वासका आधारमा आफूले लुम्बिनी प्रदेश भूगोल खुल्लाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
एमाले राजनीतिमा सक्रिय भएकै कारण भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठूलो आर्थिक क्षति व्यहोर्नु परेको रानाले बताए । रुपन्देहीका सफल पर्यटन व्यवसायीका रूपमा परिचित रानाले सञ्चालन गर्दै आएको ड्रिम इन्टरनेशनल होटल र ड्रिमल्याण्ड होटलमा तोडफोड र आगजनी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको थियो । यद्यपि, जेनजी तथा युवा पुस्ताका जायज मागहरूलाई आगामी राजनीतिक नेतृत्वले सम्बोधन गर्नुपर्ने उनको धारणा छ । आन्दोलनका मागहरू सही भए पनि त्यसमा भएका घुसपैठका कारण देशभर ठूलो आर्थिक क्षति पुगेको उनको बुझाइ छ ।
हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगरपालिकाको इन्चार्जको जिम्मेवारीमा रहेका रानाले राजनीतिक स्थायित्वबाट मात्र युवाका मागहरू सम्बोधन गर्न सकिने बताए । उनले राजनीतिलाई समाज रूपान्तरणको प्रमुख माध्यमका रूपमा लिँदै आएका छन् ।
किशोर अवस्थादेखि नै राजनीतिमा सक्रिय रानाको पार्टी योगदान वि.सं. २०४३ सालदेखि निरन्तर जारी छ । लामो समयदेखि पार्टी संगठनमा खटिँदै आएका उनले युवालाई एमालेतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । उनले संगठित गरेका युवाहरू आज पनि पार्टीका विभिन्न अभियानमा अग्रपंक्तिमा सक्रिय रहेको बताइन्छ ।
सामान्य रूपमा हेर्दा गोपाल राना सफल होटल व्यवसायीका रूपमा परिचित भए पनि उनी बहुआयामिक व्यक्तित्वका रूपमा स्थापित छन् । पर्यटनलाई मुख्य एजेन्डा बनाएर अघि बढे पनि समाजसेवामा दयालु, राजनीतिमा स्पष्ट र साथीभाइबीच लोकप्रिय व्यक्तित्वका रूपमा उनी चिनिन्छन् । रानाको जन्म बुटवलमै भएको हो । उनले बुटवलस्थित कालिका माध्यमिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरेका हुन् । वि.सं. २०४३ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनले लुम्बिनी वाणिज्य क्याम्पसबाट उच्च शिक्षा अध्ययन गरेका थिए ।
पञ्चायती कालमा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै मण्डले समूहको दमन र प्रहरीको दबाब सामना गरेका राना २०४७ सालमा प्रजातान्त्रिक युवा संघमा आबद्ध भएका थिए । २०४६ सालको जनआन्दोलनमा युवाहरूको संयुक्त सञ्जालको संयोजकका रूपमा उनले महत्वपूर्ण योगदान दिएका थिए । त्यसपछि २०४७ सालमै नेकपा एमालेको सदस्यता लिएर विभिन्न भूमिकामा पार्टीमा योगदान दिँदै आएका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकाको नगर प्रमुखका लागि दावेदार रहे पनि टिकट नपाएपछि पार्टी उम्मेदवारलाई जिताउन उनले सक्रिय भूमिका खेले । २०७९ सालको स्थानीय निर्वाचनमा पनि अन्तिम समयमा मेयरको टिकट नपाए पनि पार्टीका उम्मेदवारहरूको पक्षमा निरन्तर खटिए । हालसम्म कुनै लाभको पद नलिई पार्टीका हरेक निर्वाचन अभियानमा अग्रसर रहँदै आएका छन् ।
राजनीतिसँगै समाजसेवामा पनि सक्रिय रानाले रुपन्देहीका दुई दर्जनभन्दा बढी शैक्षिक, धार्मिक तथा अपाङ्गता सम्बन्धी संस्थाहरूमा अक्षयकोष स्थापना तथा आर्थिक सहयोग गरेका छन् । तिलोत्तमास्थित अनाथ आश्रम, बुटवल-११ स्थित प्रगति मावि, देवीनगरको अपाङ्ग आश्रम, उजिरसिंह मावि र कालिका माविमा अक्षयकोष स्थापनामा उनले उल्लेखनीय योगदान दिएका छन् ।
आफूलाई सफल व्यवसायी, समाजसेवी र जिम्मेवार राजनीतिक नेतृत्वका रूपमा स्थापित गर्दै युवाका मुद्दा केन्द्रीय तहसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको गोपाल रानाले बताए ।


















प्रतिक्रिया