१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

बुटवल बनाउने गोपाल रानाको सपना सधैं अधुरै



बुटवल । थानेश्वर गौतमको एउटा गजल आजभोलि निकै चर्चित छ –‘तिम्रा यादहरु मलाई भेटेर जान्छन्, सपनीमा आई मुटु रेटेर जान्छन्…’ । बुटवलका एक अव्वल युवा नेता गोपाल रानालाई पनि राजनीतिमा त्यस्तै भएको छ । चुनाव नजिक आउँदा अवसर र उम्मेदवारी रानाको नजिकै आउँछ, तर अन्तिममा नजिकै आएको अवसर र उम्मेदवारी चिप्लिएर अन्तै जाने गर्दछ । अघिल्लो स्थानीय निर्वाचनमा पनि बुटवलको मेयरमा गोपालको नजिकै उम्मेदवारको टिकट आएको थियो । तर गोपाललाई स्पर्श गरेर टिकट शिवराज सुवेदीको पोल्टामा प¥यो । यस पटक पनि गोपालको हातमा टिकट पर्ने पक्का पक्की जस्तै थियो, तर फेरिपनि चुनावी टिकट अन्तै गयो ।

किशोर अवस्थादेखि नै आफ्नो बलबुद्धि समृद्धि र राजनीतिमा लगाएका गोपालले पार्टीलाई दिने योगदान २०४३ सालदेखि अहिलेसम्म निरन्तर जारी छ । पार्टीमा निरन्तर लागेपनि उनले अरु नेताहरुले जस्तो राजनीतिलाई दुरुपयोग गरेर सम्पत्ती नजोडेको उनलाई नजिकबाट नियालेका बुटवलका एमाले नेताहरुले भन्छन् । गणतन्त्र आउनु अघिबाटै एमालेमा स्थानीय तहको निर्वाचनमा दाबेदार रहेका गोपाललाई पार्टीबाट अवसर भने अहिलेसम्म प्राप्त हुन सकेन । तत्कालिन माले र अहिलेका एमालेका नेताहरुलाई उच्च स्थानमा पु¥याउन गोपालले मसलदेखि मनीसम्म प्रयोग गरे । जोशीला युवालाई एमालेमा आकर्षण दिन कुनै बेला एमालेलाई गोपाल नै चाहिन्थ्यो । गोपालले संगठित गरेका युवा अहिले पनि एमाले नेताहरुको रक्षाकवच बनिरहेका छन् । तर गोपाललाई निजी व्यवसायमा नै थन्काएर राजनीति गर्नेहरुको संख्या ठुलो छ एमाले राजनीतिमा ।

को हुन् गोपाल ?

पहाड छाडेर मधेस झर्ने लहर नै चलेका बेला पर्वतबाट रुपन्देही झरेका भारतीय पेन्सनर लाहुरेका छोरा मधेसमा एक स्थापित पर्यटन व्यवसायी र राजनीतिज्ञ बन्लान भनेर सायदै कसैले सोचेका होलान् । तर पहाडमा घाँस दाउरा गर्न गाह्रो भो भन्दै समथल स्थलमा सजिलो काम गरर भात खाने रहरले मधेस झरेका लाहुरेका छोरा यतिबेला लुम्बिनी प्रदेशकै एक चर्चित पर्यटन व्यवसायी र जल्दाबल्दा राजनीतिक कार्यकर्ता बनेका छन् । र तिनै हुन् – गोपाल राना ।

सामान्य नजरबाट हेर्दा गोपाल राना रुपन्देहीका होटल व्यवसायी मात्रै देखिन्छन् । तर गहिरो अध्ययन गर्ने हो भने गोपाल राना बहुआयामिक व्यक्तित्व बनिसकेका छन् । पर्यटनलाई मुख्य एजेण्डा बनाएर अगाडि बढेपनि उनी समाजमा दयालु, राजनीतिमा निख्खर र साथीभाईमा प्रिय मान्छे बन्न सफल बनेका छन् ।

उमेरका हिसाबले ५२ वर्ष टेकेका रानाको जन्म बुटवलमै भएको हो । पर्वत जिल्ला स्थाई घर भएका उनको बुबा विसं. २०१८ सालमा अरु छिमेकीहरुसँगै मधेस (बुटवल) झरेका थिए । भारतीय सेनामा कार्यरत बुबा सर्वजित राना र आमा मनकुमारी राना डोकाभरी पहाडका भाँडाकुँडा, पेन्सन निस्कंदा ल्याएका टिनका बाकस र आवश्यक खानपानको सामाग्रीहरु सहित बुटवल झरेका थिए । मधेस पाईला टेकेसँगै उनीहरुको पहिलो बसाई बुटवल तल्लो देवीनगरमा हुन पुग्यो । सर्वजितका बुढाबुढी मधेस झेरेको १० वर्षपछि गोपाल रानाको जन्म भयो ।

त्यतिबेला अहिलेको जस्तो सुविधासम्पन्न बोर्डिङ स्कुल थिएनन् । काठमाडौमा सिद्धार्थ बनस्थली, बुढानिकण्ठ जस्ता नीजि बोर्डिङ संचालनमा आएको भएपनि मोफसलमा सरकारी स्कुल नै अध्ययनको मुल थलो बन्ने गर्दथ्यो । गोपालले कालिका माविबाट नै आफनो माध्यामिक तहको अध्ययन पुरा गरे । बिसं २०४३ सालमा कालिकाबाट एसएलसी पास गरेका उनले थप अध्ययन लुम्बिनी वाणिज्यमा गरे ।

२०४३ ताका बुटवल तत्कालिन पञ्चायती व्यवस्था समर्थक मण्डले समूह र प्रजातन्त्र र गणतन्त्रका पक्षधर विद्यार्थीहरुको निकै झडप हुने गर्दथ्यो । राष्ट्रवादी विद्यार्थी मण्डल नामको पञ्चायत समर्थक विद्यार्थीहरुको समूहले लोकतन्त्रको पक्षधरता लिने युवा विद्यार्थीहरुलाई खोजी खोजी आक्रमण गर्ने गर्दथे । बुटवल त्यसका लागि चर्चित शहर थियो । पञ्चायत कालमा लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययन गर्ने क्रममा मण्डलेहरुको अत्याचार र प्रहरीहरुको दबाबलाई चिर्ने क्रममा गोपाल पार्टी राजनीतिमा आकर्षित भए । तत्कालिन समयमा विद्यार्थी राजनीति हुँदै २०४७ सालमा उनि प्रजातान्त्रिक युवा संघमा आवद्ध भएर अघि बढे । युवा संघको जिल्लामा रहेर काम गरे । त्यहीँबाट उनको राजनीतिक यात्रा सुरु भयो ।

तत्कालिन समयमा भएको २०४६ सालको जनआन्दोलनमा युवाको संयुक्त संजालको संयोजकको भुमिकामा रहेर उनले योगदान दिए । बिसं २०५१ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिए । यसक्रममा उनले धेरै भुमिकामा रहेर पार्टीमा योगदान दिए । विसं २०५७ सालमा गिता थापासँग उनको विवाह भयो । बिसं २०४८ देखि ५० सम्म फिनिडा परियोजनामा उनले जागिर खाए । दुई वर्षको जागिरे जीवनले नै उनको लागि बाँकी जीवनमा परिवर्तन ल्याउने काम ग¥यो । जागिरकै सिलसिलामा फिल्ड घुम्नेक्रममा खानेपानी र सरसफाईको विषयमा काम गर्ने परियोजनामा काम गरेका उनले गाउँघर घुमेर धेरै बुझने अवसर पाएको बताउँछन । उनले पिउने पानीमा भएको समस्यालाई नजिकबाट केलाए । ‘त्यति नै बेला मधेशमा जमिन्दारकोमा पुस्तौली रुपमा हरुवाचरुवा बस्नेहरुको दुःख बुझने समेत अवसर पाए । ‘काम गरेर ऋण भुक्तानी गर्ने सर्तमा तमसुक गराएर जमिन्दारले पैसा बाँड्दा रहेछन्, त्यसपछि जति बर्ष काम गरेपनि ऋण नघट्दो रहेछ’ गोपालले जमिन्दारी प्रथाको स्मरण गर्दै भने, ‘पुस्तौपुस्ता गरिब जमिन्दारको कमारा कमारी बनिरहनु पर्ने ।’ त्यही अत्याचार देखेर गोपालले बर्ग बुझे र वर्ग संघर्ष पनि बुझे ।

गोपाल राजनीतिमा सीमित रहेनन् । राजनीतिलाई उत्पादन र समृद्धिसँग जोड्दै गोपालले व्यवसाय पनि गर्न थाले । फिनिडामा इन्जिनयिरहरुको संगतबाट उनलाई ठेक्कापट्टामा लाग्ने सुझाव पाए । उनले ठेक्कापट्टाको लाईसेन्स निकालेर २०५० देखि २०५७ सम्म उनी यसमा लागे । सुरुमा निर्माण व्यवसायमा हात हालेका गोपाललाई नेपाली संस्कारमा निर्माण व्यवसाय त्यति मन परेन रे । निर्माण व्यवसायभित्र रहेको विकृति र विसंगतीका कारण उनलाई त्यो व्यवसायले आकर्षण दिन सकेनछ । बरु एनजीओमा काम गर्दा घुमेर देखेका दृष्यहरुले नेपालमा पर्यटन व्यवसायको ठुलो सम्भावना देखेछन् । बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन सम्भावनालाई मध्येनजर गरी नीजि क्षेत्रबाट पर्यटनमा योगदान दिन सकिने निष्कर्षका साथ, त्यसपछि, गोपालले पर्यटन व्यवसायको यात्रा सुरु गरे ।

पर्यटनको सम्भावनालाई दृष्टिगत गर्दै उनले स्टार लेभलको होटल शुरु गरे । तिलोत्तमा नगरपालिकामा बिसं २०६६ सालमा ड्रिमल्याड गोल्ड रिर्सोट प्राली स्थापना गरे । होटल खोल्दा अहिले ड्रिमल्याण्ड भएको स्थानमा बयरघारी थियो । साथीभाईहरुले त्यस्तो जङ्गलमा के होटल चल्ला भनेर प्रश्न गरेपनि उनले आँट गरे र उनी यसैबाट स्थापित भए ।

बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिकाको मध्यभुभागमा स्थापित होटलमा स्तरवृद्धिको काममा गोपाल निरन्तर लागिरहे । यतिमात्र होइन उनले अहिले त अर्को नयाँ होटल पनि थपेका छन । बुटवलको मिलन चोकमा ड्रिम ईन्टरनेशनल प्राली संचालनमा ल्याएका छन् । उनले पहाडमा मोही र मकै खानेहरुको कथा र आफनो पनि अनुभव लिए ।

यात्रुलाई स्वागतका लागि नाम र बदनाम दुबै कमाएको तत्कालिन खस्यौलीको पर्यटन उद्योगलाई परिमार्जन गर्दै उनले होटल व्यवसायमा फर्को मारे । अन्य व्यवसायमा जस्तै पर्यटन व्यवसायमा पनि आर्थिक, सामाजिक परिवर्तन आएको गोपाल बताउँछन् । परिवर्तनलाई आत्मसाथ गर्दै उनले होटललाई बुटिकका रुपमा नयाँ स्वरुपको सेवा दिएका छन । पर्यटनलाई आर्थिकको मुख्य आधार मानिए पनि यसलाई उद्योगको मान्यता नपाईरहेको अवस्थामा पछिल्लोपटक विष्णु पौडेल अर्थमन्त्री भएको बेला होटल व्यवसायले उद्योगको मान्यता पाएको गोपाल दाबी गर्छन ।

किन पाएनन् गोपालले टिकट ?

त्यसो त गोपाल २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नै बुटवलको नगर प्रमुखको दावेदार थिए । एमालेमा तत्कालिन अवस्थामा बलियो पकड रहेका विष्णु पौडेलले त्यतिबेलै रानालाई बुटवलको मेयर बनाउने इच्छा राखेका थिए । तर एमालेभित्र विष्णुलाई कमजोर बनाउने खेल सुरु भइसकेको थियो । चुनावको बेला चर्को स्वरमा बुटवलबाट राजधानी अन्यत्र लैजान नदिने विष्णुको चट्टनी अडानले एमाले अध्यक्ष केपी ओलीका निकट रहेका एमाले नेता शंकर पोखरेललाई टाउको दुखाई बनेको थियो । राजधानी बुटवलबाट अन्यत्र लैजाँदा पौडेललाई अर्थमन्त्री थमाएर उनी विरुद्ध खेल्न सुरु गरेका पोखरेल एकपछि अर्को राजनीतिक खेलमा सफल हुँदै गएका छन् ।

कार्यकारी अधिकार रहेको महासचिव पौडेलबाट खोसेका पोखरेलले राजधानी पनि पौडेलबाट खोस्न सफल भए । अघिल्लो स्थानीय निर्वाचनमा पौडेलकै निर्वाचन क्षेत्रमा पौडेलले चाहेका गोपाल रानालाई बुटवलको मेयर बन्न दिएनन् । विष्णु पौडेलको बढ्दो राजनीतिक क्रेजलाई डाउन गर्न शंकरले तत्कालिन नेकपाको समयमा पौडेलले माधव र प्रचण्डसँग साँठगाँठ गरेको हल्ला एमालेवृत्तभित्र फैलाउन पनि भ्याएका थिए ।

यस पटकको स्थानीय चुनावमा पौडेललाई पुनः धक्का दिने नाममा गोपाल रानालाई फेरि पनि शिकार बनाइएको छ । टिकट पाउने विश्वस्ततासँगै बुटवललाई बनाउने एउटा रेखा कोरिसकेका बेला रानाको हातबाट यसपटक पनि मेयरको टिकट अन्तै गईसकेको छ ।

बुटवल बनाउने गोपालको सपना सधैं अधुरो

नेपालमा पर्यटनको विकास गर्न सस्तो ब्याजदरमा ऋण दिने व्यवस्था, प्राकृतिक सम्पदाहरुलाई चिनाउने सरकारी वातावरण, पर्यटन उद्योगको सरकारबाट समुचित योगदानको मुल्यांकन गर्नुपर्ने गोपालको मान्यता छ ।

हिन्दु र बुद्ध धर्मका सबैभन्दै धेरै जनसंख्या भएको भारत र चीनका थोरै पर्यटक भित्राउन सकेपनि नेपालको आर्थिक विकास हुने उनी बताउँछन् । सरकारले नै पुर्वाधार विकासमा जोड दिनुपर्ने बताउँदै उनले पर्यटनको माध्यमबाट आर्थिक विकास गर्न पोलिसी त्यसै अनुसार बनाउनुपर्ने बताउँछन् । बुटवल र यस आसपासका क्षेत्रलाई विश्व समुदायमा चिनाउन लुम्बिनीसँगै अग्रेजका विश्व विजेता बन्ने होडमा हिँडेको अंग्रेज फौजलाई पराजित गरेको जितगढी किल्लाको प्रचारप्रसार गर्ने, मणिमुकुन्द सेनको दरबारको संरक्षण, नुवाकोट, रामापिथेकस लगायत क्षेत्रलाई प्रचार गर्न सके यसक्षेत्रको पर्यटनले ठुलो बजार पाउने गोपालको धारणा छ ।

‘बुटवल बसेर उत्तर फर्र्कंदा कहालिलाग्दो देखिने बुटवल ज्योतीनगरको पहिरोलाई रोक्ने र हरियाली बनाउने काम हुन सके कति नागरिकको जिउधन बच्दो हो !’ गोपालले बनाएको यो योजना अब मनमै सीमित भएको छ ।

यद्यपी, गोपाल समाज सेवामा समेत भने निरन्तर लागेका छन् र लाग्ने वाचा गरेका छन् । उनले दुई दर्जन रुपन्देहीका शैक्षिक, धार्मिक, अपाङ संघसस्थाहरुमा उनले अक्षयकोष स्थापना गरिदिनुका साथै आर्थिक सहयोग गरेका छन् । तिलोत्तमास्थित अनाथ आश्रम, बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित प्रगती माविमा गोपाल रानाले अक्षयकोष स्थापना गरेका छन । देवीनगरस्थित अपाङ आश्रममा वर्षभरि नै सहयोग गर्दै आएका छन् भने उजिरसिंह मावि, कालिका माविमा पनि रानाले नै अक्षयकोष स्थापनाको अगुवाई गरेका छन् ।

‘बुटवललाई आर्थिक राजधानी बनाउनु अबको मुख्य आवश्यता हो । यसको लागि पुर्वाधार भनेको नै कृषि र पर्यटन मुख्य भएको भन्दै उनले यसमा जोड दिनुपर्छ’ गोपालले भने । बुटवलको विकासको सम्भावनालाई मध्येनजर गरी दीर्घकालीन र दीगो विकासमा लाग्नुपर्ने बताउँदै उनले बुटवलमा धेरै पुर्वाधार विकास भैसकेको हुँदा पनि अब यसलाई व्यवस्थापन मुख्य चुनौती रहेको बताए । यस क्षेत्रमा पर्यटनमार्फत आर्थिक विकासलाई मुख्य अवसर बनाएर लैजानुपर्ने उनी बताउछन । बुटवल उपमहानगरपालिकाको १५, १६, १७ र १८ मा आधुुनिकीकरण कृषिसँग पर्यटनलाई जोडेर आर्थिक विकासको सम्भावना रहेको उनी बताउँछन । युरोपको अधिकांस शहरहरुको विकास क्रमलाई अध्ययन गर्दा कृषि र पर्यटन महत्वपुर्ण मानिन्छ । यस क्षेत्रमा कृषि उत्पादन गर्ने र प्राकृतिक सुन्दरतालाई जोडेर बुटवललाई विकास अघि बढाउने रानाको योजना छ ।

बुटवल साना फुटपाथ व्यवसाय गर्नेदेखि ठुला उद्योगीसम्मका सबैलाई व्यवस्थापन गर्नु चुनौती रहेको उनी बताउँछन् । यसलाई व्यवस्थित गर्ने गरी मापदण्ड बनाउन जरुरी रहेको उनी बताउछन् । बुटवलमा रात्रीकालिन सेवा दिने गरी होटल रेष्टुरेन्टको सेवा दिने, नीजि क्षेत्र र सरकारको सहकार्य गरेर राष्ट्रिय, अन्तराष्ट्रिय लगानी भित्राउन जरुरी रहेको पनि उनी बताउछन । धार्मिक पर्यटक भित्राउन यस क्षेत्रका पर्यटकिय स्थलहरुमा बिग बुद्ध, बिग शिव र बिग मार्टमा लगानी अबको मुख्य आवश्यकता भएको बताउँदै उनले तिनाउ खोलामा मगरघाटमाथि ड्याम निमार्ण गर्ने, स्टीम चलाउन सकिने सपना सुनाउँछन् ।

बुटवल यौन व्यवसायको थलोका रुपमा विकृत बन्दै गएको बेला यसलाई व्यवस्थित गर्न जरुरी रहेको गोपालको धारणा छ । ‘अव्यस्थित बसोबासलाई व्यवस्थित गर्ने र भएका सार्वजनिक जग्गाको संरक्षणको कामलाई मानिसको आर्थिक उपार्जनसँग जोड्ने गरी अघि बढाउनुपर्छ’, गोपाल भन्छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १० : ३० बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका