५ पुस २०८२, शनिबार | December 20, 2025

चिसोलाई बेवास्ता गर्दै बुटवलको औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको घुइँचो, स्वदेशी उत्पादनप्रति बढ्दो आकर्षण



बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित बुटवलमा सुरु भएको १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०८२ मा चिसो मौसमका बाबजुद अवलोकनकर्ताको उल्लेखनीय भीड बढ्दै गएको छ ।

बिहीबार सुरु भएको प्रदर्शनीको दोस्रो दिन शुक्रबार अवलोकनकर्ताको चहलपहल उल्लेख्य रूपमा बढेको गेट टिकट उपसमितिका संयोजक राजु घिमिरेले जानकारी दिए । बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिएको यस प्रदर्शनीमा स्वदेशी उत्पादनका विभिन्न प्रकृतिका ५ सय वटा स्टल राखिएका छन् । स्टलहरूलाई विषयगत रूपमा १० वटा पेभिलियनमा विभाजन गरिएको छ । प्रदर्शनीमा मुलुकका ३९ जिल्लाबाट उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको छ ।

शनिबार पहिलो सार्वजनिक बिदा परेकाले अवलोकनकर्ताको संख्या अझै बढ्ने अनुमान गर्दै आयोजकले सोहीअनुसार तयारी तीव्र पारेको छ । सहभागी दर्शकले विशेषगरी स्वदेशी उत्पादन गर्ने उद्योग र प्रविधिप्रति चासोका साथ अवलोकन तथा अध्ययन गरिरहेको सदस्य सचिव सुमन बस्यालले बताए ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरणलाई मुख्य उद्देश्य बनाएर सञ्चालन भइरहेको यस प्रदर्शनीमा करिब ८ लाख दर्शकले अवलोकन गर्ने र करिब ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए ।

प्रदर्शनीलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएको छ । लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक–गायिका, हास्य कलाकार, ब्याण्डहरूको सांगीतिक प्रस्तुति, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएको सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले बताए ।

प्रदर्शनीमार्फत प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धन र गुणस्तरीय प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूबीच समस्या, अवसर र चुनौतीबारे छलफल गर्ने, सूचना तथा प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने उद्देश्य राखिएको सचिव तथा परिचयपत्र उपसमिति संयोजक अशोक कुँवरले जानकारी दिए । साथै पर्यटन क्षेत्रको प्रवर्द्धन, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना तथा अवलोकनकर्ता र उपभोक्ताबाट सुझाव संकलन गरिने पनि उनले बताए ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, रेष्टुरेन्ट, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, सूचना प्रविधि (आईटी) लगायतका क्षेत्रका गरी कुल ५ सय स्टल रहेका प्रचार-प्रसार संयोजक किरण खरेलले जानकारी दिए ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ८ : २२ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र