काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा वरिष्ठ केन्द्रीय सदस्यहरूलाई आमन्त्रण गरिएको छ । बैठकको मुख्य एजेन्डामा यही पुस २६ देखि २८ गतेसम्म आयोजना गर्ने तय गरिएको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरणमा देखिएको ढिलाइ तथा त्यसले सिर्जना गरेको अन्योलबारे छलफल हुने बताइएको छ ।
नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विलम्बका कारण महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित हुनसक्ने देखिएको छ । सोही कारण आजको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा समेत गम्भीर छलफल हुने अनुमान गरिएको छ ।
पार्टीको वर्तमान कार्यतालिकाअनुसार क्रियाशील सदस्यता टुंग्याएर पुस १६ गते वडा अधिवेशन गर्ने योजना छ । त्यसपछि पुस १७ गते पालिका अधिवेशन, पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने तालिका तय गरिएको छ ।
यसैगरी, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन, पुस २२ गते दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन, पुस २३ र २४ गते प्रदेश अधिवेशन तथा पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
आज बस्ने बैठकले महाधिवेशनको भावी कार्यदिशा र कार्यतालिकाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।



















प्रतिक्रिया