७ आश्विन २०८३, बुधबार | September 23, 2026

क्रियाशील सदस्यता नटुंगिँदा कांग्रेस फेरि विवादमा, विशेष महाधिवेशनको बहस चर्कियो



काठमाडौं । ४८ दिन लामो १३ औँ केन्द्रीय समिति बैठकबाट सर्वसम्मत महाधिवेशन कार्यतालिका पारित गरेको नेपाली कांग्रेस पुनः आन्तरिक विवादमा फसेको छ । कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण टुंगिन नसक्दा कांग्रेस फेरि पुरानै विवादमा फर्किएको हो ।

महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिका सच्याउँदै यही पुस २१ गते वडा अधिवेशन सुरु गर्ने प्रस्ताव कार्यसम्पादन समितिमा राखेका छन् । उनले पुस २३ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न गरी तोकिएकै मितिमा, अर्थात् पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । तर, उक्त प्रस्तावमा संस्थापन पक्षले सहमति नजनाएपछि विशेष महाधिवेशनको विषय पुनः कार्यसम्पादन समितिमा प्रवेश गरेको छ ।

महामन्त्री थापाले महाधिवेशनको मिति घोषणा भए पनि त्यसअनुसार आवश्यक तयारी र काम हुन नसकेको बताएका छन् । “महाधिवेशन घोषणा भएपछि गर्नुपर्ने काम हुन सकेनन् । अब सबै तहका अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्ने अवस्था रहेन,” उनले भने, “नेतृत्व परिवर्तन नगरी चुनावमा जान सकिँदैन । त्यसैले छिटो सदस्यता टुंग्याएर वडा अधिवेशन पुस २१, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २३ र केन्द्रीय महाधिवेशन पुस २६-२८ मै गर्ने प्रस्ताव गरेको हुँ ।”

थापाले उक्त प्रस्तावमा सहमति नजनाए विशेष महाधिवेशनको विकल्प खुला रहने चेतावनीसमेत दिएका छन् । “यदि सबै सहमत भएर लाग्ने हो भने महाधिवेशन सम्भव छ,” उनले भने, “तर नियतबस महाधिवेशन असफल बनाउन खोजिए विधानतः विशेष महाधिवेशनको प्रस्ताव कायम छ, जसलाई कसैले रोक्न सक्दैन ।”

यसबीच पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री थापाको भनाइप्रति असहमति जनाएका छन् । बैठकबारे जानकारी दिँदै उनले महामन्त्रीले वडा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र केन्द्रीय महाधिवेशन गर्ने गरी तीन तहको प्रस्ताव राखेको बताए । तर, त्यसमा कुनै निर्णय नभएको स्पष्ट पार्दै “कार्यान्वयन हुनसक्ने व्यावहारिक प्रस्तावमा मात्र सहमति हुन्छ” भन्ने धारणा राखे ।

महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवामाथि पनि शक्ति अभ्यास जारी राखेको आरोप लगाएका छन् । उनले विधान संशोधन मस्यौदा समिति अहिलेसम्म गठन नभएको र गठन हुनुपर्ने समितिको नेतृत्व महामन्त्री विश्वप्रकाश शर्मालाई दिन नचाहिएकोप्रति असन्तुष्टि व्यक्त गरे । “सभापतिले समिति गठन गर्ने भनिएको छ । मलाई जिम्मा दिइयो भने एक मिनेटमै महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति गठन गर्छु,” थापाले भने ।

थापाले सभापतिलाई कार्यवाहक पनि दिने र शक्ति अभ्यास पनि गर्ने प्रवृत्ति बन्द गर्न चेतावनी दिँदै निर्वाचनअघि जसरी पनि नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जाने विकल्प कायम रहेको उनको भनाइ छ ।

कांग्रेसले असोज २८ गते सुरु गरेको केन्द्रीय समिति बैठक मंसिर १५ गते टुंग्याउँदै सोही दिन महाधिवेशन कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको थियो । सो क्रममा महामन्त्री थापाले पुस १६-१९ र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७-३० मा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए । अन्ततः कार्यवाहक सभापतिबाट प्रस्ताव पारित गरिएपछि थापाले ‘फरक मत’ दर्ता गर्दै विशेष महाधिवेशनको प्रस्ताव कायम रहेको बताएका थिए ।

बुधबार थापा पुनः सोही विषयमा फर्किएपछि संस्थापन पक्षले सदस्यता व्यवस्थापन समितिले काम गर्न नसकेको असफलता लुकाउन विशेष महाधिवेशनको कुरा उठाइएको आरोप लगाएको छ । त्यसको जवाफ दिँदै थापाले क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी जिल्लाको भएको र केन्द्रले समन्वय तथा अभिलेख मात्र राख्ने स्पष्ट पारे ।

उनका अनुसार केही जिल्लामा अझै विवाद छ भने केहीले नियतबस सदस्यता विवरण नपठाएका छन् । “त्यस्ता जिल्लामा केन्द्रबाट टोली पठाएर दुई-तीन दिनमै समस्या समाधान गर्न सकिन्छ,” उनले भने, “समस्या समाधान भएर पनि विवरण नपठाउने जिल्लाका हकमा पुरानै क्रियाशील सदस्यका आधारमा अधिवेशन गर्ने वा अन्य विकल्प खोज्न सकिन्छ ।”

यसरी क्रियाशील सदस्यता र महाधिवेशनको मितिलाई लिएर कांग्रेसभित्रको विवाद पुनः सतहमा आएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १० : ०० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११