१० पुस २०८२, बिहिबार | December 25, 2025

नयाँ राजनीतिक शक्तिमा नेतृत्वको होड, सहकार्यभन्दा प्रतिस्पर्धा बलियो : रेशम चौधरी



काठमाडौं । पुराना दलहरूको विकल्पका रूपमा उदाएका नयाँ राजनीतिक शक्ति र व्यक्तित्वहरू एकै ठाउँमा उभिन सक्ने सम्भावना कमजोर देखिएको नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीले बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगको भेटपछि उनले यस्तो निष्कर्ष सार्वजनिक गरेका हुन् ।

बुधबार साँझ कुपण्डोलस्थित होटल हिमालयमा बालेन शाह र रेशम चौधरीबीच करिब १० मिनेट छलफल भएको थियो । उक्त भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावना व्यवहारमा निकै कठिन देखिएको बताए ।

उनका अनुसार आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई लक्षित गर्दै नयाँ दल र समूहहरूबीच भइरहेको संवादले ठोस परिणाम दिन सकेको छैन । “सैद्धान्तिक रूपमा कुरा ठीक देखिए पनि व्यवहारमा सफल हुने सम्भावना देखिँदैन,” चौधरीले भने, “सबैजना आफ्नै नेतृत्वमा अघि बढ्न चाहन्छन् ।”

चौधरीले पछिल्लो समय बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ र हर्क साम्पाङलगायत व्यक्तिहरूबीच भइरहेको संवादलाई उल्लेख गर्दै भने, “सबैजना आफैं प्रधानमन्त्री बन्ने आकांक्षामा देखिन्छन् । त्यसैले एकअर्कालाई नेतृत्वका रूपमा स्वीकार गर्ने अवस्था बनेको छैन ।”

उनका अनुसार बालेनसँगको भेटमा कुनै ठोस राजनीतिक सहमति नभए पनि आगामी दिनमा संवाद जारी राख्ने समझदारी भएको छ । तर एउटै चुनाव चिह्न वा साझा मोर्चा बनाएर अघि बढ्ने सम्भावना भने कमजोर रहेको उनको भनाइ छ ।

चौधरीले बालेनसँगै पछिल्ला दिनमा रवि लामिछाने, कुलमान घिसिङ, र अन्य केही स्वतन्त्र तथा वैकल्पिक धारका व्यक्तिहरूसँग संवाद भएको उल्लेख गर्दै ती सबैमा आ–आफ्नै राजनीतिक महत्वाकांक्षा हावी रहेको बताए ।

उनका अनुसार, “सबै जना नेतृत्वको केन्द्र बन्न चाहन्छन् । यही कारणले वैकल्पिक शक्ति एकै ठाउँमा उभिन गाह्रो भएको छ ।”

नयाँ राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने प्रयास भइरहे पनि आपसी विश्वास, नेतृत्वको प्रश्न र राजनीतिक महत्वाकांक्षाका कारण तत्कालै सहकार्य सम्भव नदेखिएको चौधरीको निष्कर्ष छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  ४ : १६ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न