३ श्रावण २०८३, आइतबार | July 19, 2026

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो



कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै गएको छ । जंगली स्याल र भुस्याहा कुकुरको टोकाइबाट पशु तथा मानिसमा रेबिज फैलिन थालेपछि प्रदेशभरि जनस्वास्थ्यमा ठूलो चुनौती थपिएको छ ।

धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार पछिल्लो २० दिनयता कम्तीमा १८ पशुको रेबिजका कारण मृत्यु भएको छ ।

‘तीन वर्षको अवधिमा तीन सय ७१ पशुमा रेबिजको सङ्क्रमण पुष्टि भइसकेको छ’, उनले भने, ‘यो त प्रयोगशालालाई जानकारी भएको मात्र हो, यसै बीचमा कम्तीमा पनि पाँच जना मानिसको रेबिज सङ्क्रमणकै कारण मृत्यु भएको जानकारी भएको छ, धेरैजस्तो त जानकारीमै नआउने भएकाले मृत्युको सङ्ख्या धेरै हुनसक्ने देखिन्छ ।’

रेबिजकै कारण यसै साता बझाङको सुर्मा गाउँपालिका-२ की ७० वर्षीया महिलाको मृत्यु भएको जानकारी आएको वरिष्ठ पशु चिकित्सक जोशीले बताए । उनका अनुसार यसअघि यसै वर्ष असार महिनामा बैतडीमा एक बालकको पनि रेबिजका कारण मृत्यु भइसकेको छ ।

सबैभन्दा बढी रेबिजको सङ्क्रमण कैलाली र कञ्चनपुर जिल्लामा रहेको छ । आर्थिक वर्ष २०८१-८२ मा सङ्कलित एक सय ७० नमूनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ ।

सो आर्थिक वर्षमा सबैभन्दा बढी सङ्क्रमण कैलालीमा भेटिएको छ । त्यहाँ संकलन गरिएका ९८ नमूनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ ।

कैलालीको गोदावरी नगरपालिका-६ मा अन्य पशुलाई टोक्दै हिँडेको एक पशुमा दुई दिनअघि मात्रै रेबिज पुष्टि भएको छ । प्रयोगशालाको द्रुत प्रतिकार्य टोली ९आरआरटी०ले संकलन गरेको नमूना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको वरिष्ठ पशु चिकित्सक जोशीले जानकारी दिए ।

यसअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ मा बहुला कुकुरमा रेबिज पुष्टि भएको थियो भने हाल सोही नगरपालिकाको वडा नं १२ मा समेत कुकुरको आतङ्क बढ्दै गएको नगरपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए। उनका अनुसार पछिल्लो समय स्यालहरू एकाएक मानव बस्तीमा पस्न थालेका छन्, त्यसको मुख्य कारण उखुखेती कटानीका कारण प्राकृतिक बासस्थान नष्ट हुनु रहेको छ ।

‘उखु कटानीको सिजन सुरु भएपछि स्यालको लुक्ने ठाउँ र आहार क्षेत्र मासिएको छ’, भट्टले भने, ‘बासस्थान अभाव भएपछि स्याल आहाराको खोजीमा बस्ती पस्ने, घरपालुवा कुकुर तथा पशुलाई टोक्ने र त्यसैबाट रेबिजको सङ्क्रमण तीव्रगतिमा फैलिएको छ ।’

पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार रेबिज शतप्रतिशत प्राणघातक रोग भए पनि समयमै उपचार र सावधानी अपनाएमा ज्यान जोगाउन सकिन्छ । उनका अनुसार कुनै पनि पशुले टोकेमा घाउलाई १०-१५ मिनेटसम्म साबुन र सफा पानीले राम्ररी धुने, घाउ सानो भए पनि ढिलाइ नगरी तुरुन्त स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने कार्य गर्नुपर्दछ ।

असामान्य व्यवहार गर्ने, टोक्ने वा र्याल झार्ने पशु देखिएमा स्थानीय तह वा पशुपन्छी सेवा शाखामा तुरुन्त जानकारी गराउने, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन, जङ्गली जनावर तथा भुस्याहा कुकुरबाट टाढा रहन र बालबालिकालाई विशेष सतर्कता अपनाउन लगाउने कार्य गर्नुपर्ने उनको भनाइ रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : २७ बजे

जोर्डनस्थित एयरबेसमा अमेरिकी सेना मारिएपछि अमेरिका-इरान द्वन्द्व थप चर्कियो

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

जलबिरेमा दुई बस र ट्रक ठोक्किएपछि अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–स्थित जलबिरेमा आइतबार बिहान दुई यात्रुवाहक

१५ वर्षदेखि सिंहदरबारमा रोकिएको तुलसी घिमिरेको मानार्थ नागरिकता

काठमाडौं। वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने

राजमार्ग कब्जा गरेर बसपार्क : जिल्ला प्रहरी कार्यालयकै प्रवेशद्वारमा ट्राफिक अस्तब्यस्त

नेपालगन्ज । नेपालगन्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने सवारी साधनहरुले