काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समयको अभावका कारण निर्वाचनअघि महाधिवेशन गराउने प्रस्ताव असम्भव देखिएको बताएका छन् ।
आज आफ्ना पक्षधर नेताहरूसँग भएको छलफलमा कोइरालाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाखमा महाधिवेशन गर्ने संस्थापनको प्रस्तावलाई समयअभावकै कारण रोक्न नसकेको बताएका हुन् ।
महाधिवेशन पछि सार्न आफू इच्छुक नभए पनि उपलब्ध समय पर्याप्त नभएकाले निर्वाचनअघि महाधिवेशन सम्भव नदेखिएको कोइरालाको उनको भनाइ छ ।
पार्टीभित्र पुषमा विशेष महाधिवेशन गर्नैपर्ने गगन पक्ष र निर्वाचनपछि महाधिवेशन गर्ने संस्थापन पक्षबीच तिब्र धु्रवीकरण भैरहेको अवस्थामा कोइरालाले आज आफु निकट नेताहरुसँग विशालनगरमा छलफल गरेका हुन् । सो छलफलको क्रममा उनले कार्यसम्पादन समितिको बैठकमा आफूले निर्वाचन र महाधिवेशन दुबै प्रक्रिया एकसाथ अघि बढाउनुपर्ने प्रस्ताव राखेको बताएका थिए । तर अधिकांश नेताहरूले समय व्यवस्थापन कठिन हुने बताएपछि कार्यबहाक सभापति खड्काको प्रस्तावमा सहमति जनाउनु परेको उनले स्पष्ट पारेका छन् । कोइरालाले हिजो कार्यसम्पादन समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै विशेष महाधिवेशनको औचित्य सकिएको बताएका थिए ।
उक्त छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता बलबहादुर केसी, मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा. गोविन्द पोखरेल, सरिता प्रसाईँलगायत ४० भन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो । छलफलमा सहभागी सबै नेताहरु विशेष महाधिवेशनको विपक्षमा रहेका थिए ।


















प्रतिक्रिया