२८ भदौ २०८३, आइतबार | September 13, 2026

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि जनप्रतिनिधिले भत्काए सडाकको ढलान


२२ पुस २०८२, मंगलबार  

104
Shares

म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् ।

दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाएका हुन् ।

स्थानीयवासीले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित पुग्दा उक्त ठाउँमा पिसिसी ढलानका क्रममा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनर्निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताए ।

“निर्माणस्थलमा तयार पारिएको मसला (सिमेन्ट, गिट्टी र बालुवा)को मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो”, उनले भने, “निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । निगरानी र अनुगमनमा कडाइका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिएका छौँ ।”

स्थानीयवासी विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शङ्का लागेपछि व्यवसायीलाई सचेत बनाउँदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक र जनप्रतिनिधिहरूलाई जानकारी गराएको बताए ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता जनाए । पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरको विषयमा लिखित रूपमा स्पष्ट निर्देशन दिए पनि कमजोरी देखिनु ठेकेदारको कमजोरी भएको बताए ।

गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यस आयोजना म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त हो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब छ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ । ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ ।

छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।

आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो ।

यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी ९सात किलोमिटर० र मच्छिम–मुना ९चार किलोमिटर० अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको छ ।

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी जलजला हुँदै ढोरपाटन हालै सडक सञ्जालमा जोडिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ८ : ०७ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू