२५ पुस २०८२, शुक्रबार | January 9, 2026

बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, ४२ विद्यालयका १,५८८ विद्यार्थीबीच प्रतिस्पर्धा



बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । बुटवल–११ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा बुटवल उपमहानगरपालिका अन्तर्गत रहेका ४२ वटा सामुदायिक तथा निजी विद्यालयका १ हजार ५८८ जना विद्यार्थी सहभागी हुनेछन् । सहभागीमध्ये ९४१ जना छात्रा र ६०७ जना छात्र रहेको नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए । प्रतियोगितामा कुल ३५० उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ दौड, ज्याभ्लिन थ्रो, सटपुट, लङ जम्प, हाई जम्प, ट्रिपल जम्पलगायतका विधा समावेश छन् । यस्तै, करातेमा ६ विधा, तेक्वान्दोमा ६ विधा, भलिबल तथा कबड्डी प्रतियोगिता पनि सञ्चालन गरिनेछ ।

रनिङ शिल्ड विजेता विद्यालयले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता र तृतीय हुने विद्यालयलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगदसहित सम्मान गरिने संयोजक पियाले बताए । विधागततर्फ छात्रा र छात्र भलिबल प्रतियोगितामा विजेता दुवै समूहलाई १५ हजार रुपैयाँ तथा द्वितीय हुने समूहलाई ७ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । कबड्डीतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, ७ हजार ५ सय र ३ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

एकल प्रतिस्पर्धाअन्तर्गत कराते र तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै सहभागी सबै विद्यार्थीका लागि दुर्घटना बीमाको समेत व्यवस्था गरिएको छ ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले प्रतियोगितालाई खेलकुद मेलाको रूपमा लिइएको उल्लेख गर्दै यहाँबाट विद्यार्थीका उत्कृष्ट खेल प्रतिभा पहिचान गर्न सकिने बताए । उनले प्रतियोगितालाई बुटवलकै उत्कृष्ट खेलकुद कार्यक्रमका रूपमा सफल बनाउन आयोजकलाई निर्देशनसमेत दिए । खेलकुदले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै सामूहिक भावना र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उनको भनाइ थियो ।

उपप्रमुख सावित्रादेवी अर्यालले खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयस्तरमै खेलकुद संस्कृतिको विकास गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : २१ बजे

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय

चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौँ । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

कांग्रेस बाँकेमा विज्ञप्तिको दोहोरी

नेपालगन्ज । नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको मागका आधारमा