१३ असार २०८३, शनिबार | June 28, 2026

उपरदाङ्गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालय



चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालयका रूपमा विकास गरिएको छ । कोतघरमा तोपसहितको हातहतियार राखेर सङ्ग्रहालयका रूपमा विकास गरिएको हो ।

नेपाली सेनाले सङ्ग्रहालय निर्माणका लागि ऐतिहासिक हातहतियारहरू सहयोग गरेको छ । नेपाली सेनाको नयाँ सवुज गण भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामाका अनुसार छ पाउण्डको तोप एक थान, किटको गोला पचास वटा, भरुवा बन्दुक दुई नाल, छालाको ढाल एक थान, तरबार दुई थान, खुकुरी छवटा र खुँडा एक थान सेनाले उपलब्ध गराएको छ ।

कोतघर भने इच्छाकामना गाउँपालिकाले रु एक करोड ८३ लाख खर्चेर निर्माण गरेको हो । सङ्ग्रहालयको व्यवस्थापन र रेखदेख इच्छाकामना गाउँपालिकाले गर्दै आएको छ ।

सेनवंशीय राजा मणिमुकुन्द सेनले निर्माण गरेको यो गढी शाहवंशीय राजा बेलाबहादुर शाहको नायवीमा यसको थप मर्मत गरिएको इतिहास छ । नेपाल एकीकरणका बेला बहादुर शाहका छोरा शत्रुभन्जन शाह यहाँ आएर सेनाको टुकडी राखेको इतिहासमा उल्लेख छ ।

इच्छाकामना गाउँपालिका–७ मा रहेको गढीमा पुराना हातहतियारहरू प्रदर्शनमा राखिएपछि पर्यटकका लागि थप आर्कषणको केन्द्र बनेको छ ।

सङ्ग्रहालय तथा कोतघरको इच्छाकमना गाउँपालिकाको आयोजनामा उद्घाटन गरिएको हो । कार्यक्रममा नेपाली सेनाका मध्यक्षेत्र पृतना हेडक्र्वाटर हेटौँडाका पृतनापति उपरथि विष्णुकुमार खड्काले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले गढीको जीर्णोद्धार गर्दै कोतघर बनाउँदा मौलिकपन दिइएकाले पर्यटकका लागि आर्कषक केन्द्र बन्ने बताए । उनले यही गढीबाट अङ्ग्रेजका सेनालाई नेपाली सेनाले युद्धमा लखेट्न सफल भएको बताए । पुरातत्व विभागको स्वीकृतिमा परम्परागत कला, संस्कृति झल्किने गरी कोतघर निर्माण गरिएको उनको भनाइ छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पर्यटन प्रवर्द्धनका लागि गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालयका रूपमा विकास गरिएको बताए । गढीसम्म पुग्ने सडकलाई थप व्यवस्थित गर्ने, स्थानीयले सञ्चालन गरेका घरबासलाई व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्ने योजना आफूहरूको रहेको बताए । उनले भने, “चितवनको समथर भूभागमा गर्मी हुँदा यहाँ सिरक ओढेर सुत्न सकिन्छ, तल हुस्सुले ढाकेको समयमा यहाँ पहारिलो घाम ताप्दै आनन्द लिन सकिन्छ ।”

खण्डहर बन्दै गएको ऐतिहासिक थलो उपरदाङगढी संरक्षण गरेर थप पूर्वाधार निर्माण गरेपछि पर्यटकहरू बर्सेनि बढ्दै गएको बताउँदै उनले गढी बाहिर वनभोजस्थललगायत अन्य पर्यटकीय गतिविधि गर्न मिल्ने संरचना निर्माण गरिँदै लैजाने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायतले उपरदाङगढीको पुरातात्विक र ऐतिहासिक महत्त्वबारेमा चर्चा गरेका थिए ।

यसअघि भरतपुरस्थित नेपाली सेनाको गणबाट तोपलाई वैद्धिक विधिपूर्वक पूजा गरी बाजागाजासहित उपरदाङगढी पुर्याइएको थियो । गढीमा पनि तोपलाई विधिपूर्वक पूजापाठ गरी कोतघरमा राखिएको हो ।

सेन राज्यकालदेखि विसं २०१४ सम्म यो गढी चितवन क्षेत्रको सरमुकाम थियो । विसं १९१९ मा सदरमुकाम झुवानी सारिएको थियो । तर गर्मीमा कङ्काली कोट सार्नुपर्दा औलो, जङ्गली जनावरको त्रासले सरदमुकाम पुनः उपरदाङगढीमा नै सारिएको बताइन्छ । औलो उन्मूलनपछि सदरमुकाम २०१४ सालमा भरतपुर सारियो ।

सेनकालीन यस गढीमा प्रधानसेनापति अभिमान सिंह बस्न्यातको नेतृत्वमा १८३४ साल ३ गते हमला भई (गोर्खा) नेपाल राज्यमा गाभिएको इतिहास रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतले बताए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १० : ४६ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट