काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिको पुनरागमन स्पष्ट देखिन थालेपछि विध्वंस र अराजकताका पक्षधरहरू एकजुट हुन थालेको टिप्पणी गरेका छन् । शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच देखिएको एकतालक्षित गतिविधिप्रति संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले धम्की, घृणा, निषेध र हिंसाका माध्यमबाट लोकतान्त्रिक शक्तिलाई किनारामा पार्न असफल भएपछि भदौ २४ को विध्वंसलाई वैधता दिन खोज्ने तत्वहरू अहिले एक ठाउँमा उभिन थालेको आरोप लगाए । उनले हाल चलाइएको ‘पुराना दल’ र ‘नयाँ दल’बीचको बहस वास्तविक ध्रुवीकरण नभएको उल्लेख गर्दै वास्तविक ध्रुवीकरण विध्वंसलाई वैध ठान्ने र नठान्ने शक्तिहरूबीच रहेको जिकिर गरे ।
उनका अनुसार यो संघर्ष कुनै राजनीतिक विचारधारा, दर्शन वा पुस्ताबीचको नभई लोकतान्त्रिक मूल्य-मान्यता जोगाउने कि तोडफोड, अराजकता र हिंसालाई स्वीकार गर्ने भन्नेबीचको हो । अध्यक्ष ओलीले लोकतन्त्र राजनीतिक दलहरूको भूमिकाबाट मात्र संस्थागत र बलियो हुने स्पष्ट पारे ।
उनले पछिल्लो समय विचार, सार्वजनिक जवाफदेहिता र सामाजिक नैतिकताका हिसाबले विवादास्पद व्यक्तिहरू संगठित रूपमा लोकतान्त्रिक प्रणाली र संवैधानिक संस्थामाथि चुनौती दिइरहेको बताए । ‘अवतारी नायक’ जन्मिएर सबै समस्या एकैपटक समाधान हुन्छ भन्ने खालको भ्रम फैलाउने प्रयास भइरहेको भन्दै उनले यसप्रति सचेत रहन आग्रह गरे ।
अध्यक्ष ओलीले विध्वंस र पपुलिज्म कुनै पनि हालतमा अग्रगामी विकल्प हुन नसक्ने स्पष्ट पार्दै पपुलिज्मले मुलुकको राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने चेतावनी दिए । सत्तामा पुग्न जुनसुकै भावना बेच्न सकिने प्रवृत्तिका कारण पपुलिज्मले नेपालमा गम्भीर भूराजनीतिक जोखिमसमेत निम्त्याउन सक्ने उनको भनाइ थियो ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा निर्वाचन, पार्टी संगठन सुदृढीकरण र लोकतान्त्रिक मूल्यको संरक्षणमा एमालेको भूमिकाबारे पनि धारणा राखेका थिए ।


















प्रतिक्रिया