काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिदो राजनीतिक परिस्थितिलाई ‘चल्ते चलाते शैली’मा सामना गर्न नसकिने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक परिस्थितिको सामना गर्न पार्टी एकता र रूपान्तरणलाई ऐतिहासिक आवश्यकता भएको बताए । प्रचण्डले जनआन्दोलनपछि उत्पन्न असाधारण परिस्थितिलाई सम्हाल्न कम्युनिस्ट शक्तिहरूलाई एउटै मोर्चामा ल्याइएको बताए। उनका अनुसार यो एकता–प्रक्रिया दिनप्रतिदिन थप सशक्त बन्दै गएको छ।
प्रचण्डले घटक संगठन मात्र होइन, देशप्रति समर्पित र परिवर्तनप्रति इमानदार हजारौँ नेता–कार्यकर्ताहरू पार्टीमा प्रवेश गरिरहेको बताए। नयाँ पुस्ताले चाहेको भ्रष्टाचारमुक्त, सामाजिक न्याय र समृद्धि प्राप्त नेपाल निर्माण गर्ने प्रतिबद्धता पार्टीले गरेको उनले स्पष्ट पारे।
पहिला संगठनात्मक संरचना मजबुत बनाएर नेता-कार्यकर्तालाई कार्यक्षेत्रमा सक्रिय रुपमा खटाइने उनले उल्लेख गरे। पार्टी एकतासँगै राष्ट्रिय एकता र वाम एकतालाई सुदृढ बनाउन सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा पनि उनले जोड दिए।
उनका अनुसार कृषि विकास, रोजगारी सिर्जना र प्राकृतिक स्रोत–साधनको सदुपयोगमार्फत उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्नु र समाजवादतर्फ अघि बढ्नु वर्तमान आवश्यक एजेन्डा हो।


















प्रतिक्रिया