झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रस्तावित प्रधानमन्त्री बालेन शाहले झापा-२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि खुलेर समर्थन र सहयोग जनाएका छन् ।
बुधबार बिहान बालेन शाह स्वयं इन्दिरा रानामगरको निवासमा पुगेर भेटघाट गरेका थिए । भेटका क्रममा उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा रानामगरको उम्मेदवारीलाई सफल बनाउन पार्टीगत र व्यक्तिगत रूपमा पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दुवै नेताबीच भेटमा परिवर्तनमुखी राजनीति, सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्वका विषयमा विस्तृत छलफल भएको बताइएको छ । बालेन शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा-२ मा नयाँ आशा र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै उनको जितले संसद्मा जनताको आवाज बलियो बन्ने धारणा राखेका छन् ।
इन्दिरा रानामगरले पनि बालेन शाहको समर्थनलाई अभियानका लागि ठूलो ऊर्जा र हौसला भएको बताउँदै परिवर्तनको एजेन्डामा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् ।
झापा-२ की उम्मेदवारको घरमै पुगेर गरिएको यस भेटलाई आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको सहकार्य, एकता र साझा उद्देश्यतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।


















प्रतिक्रिया