१४ माघ २०८२, बुधबार | January 28, 2026

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको भदौ २३ गते भएको घटनाका सम्बन्धमा आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन् । पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमार्फत आफू र नेकपा (एमाले)विरुद्ध गलत प्रचार भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको भन्ने आरोप पूर्ण रूपमा निराधार रहेको बताएका छन् । उनले यस्ता भ्रामक प्रचारमा नपर्न आम नागरिकलाई आग्रहसमेत गरेका छन् ।

ओलीले लेखेका छन्, “केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ, मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्ने जस्तो । यो कुरा पूर्ण रूपमा निराधार छ ।”

संविधानले प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउने आदेश दिन कुनै अधिकार नदिएको उल्लेख गर्दै उनले आफूले त्यस्तो आदेश नदिएको मात्र होइन, दिनेबारे सोच्नसमेत नसक्ने स्पष्ट पारेका छन् । “हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार दिएको छैन । मैले त्यस्तो आदेश कहिल्यै दिएको छैन र दिनेबारे सोच्न पनि सक्दिनँ,” ओलीले बताएका छन् ।

अध्यक्ष ओलीले यस्ता आरोपहरू नियोजित रूपमा फैलाएर आफू र आफ्नो पार्टीको छवि बिगार्ने प्रयास भइरहेको दाबी गर्दै तथ्य र सत्यको आधारमा मात्र धारणा बनाउन सबैलाई आग्रह गरेका छन् ।

यस्तो छ ओलीको स्टाटस

प्रिय भाइबहिनीहरु !
केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ; मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो। यो कुरा पूर्ण रूपमा निराधार छ। हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ।
त्यस दिनको दुःखद् घटनापछि मैले तत्काल पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाएको थिएँ। ज्यान गुमाउन बाध्य भएका १९ जना नानी-बाबुहरूप्रति मेराे गहिरो श्रद्धाञ्जली छ। त्यो पीडा आजसम्म पनि मसँगै छ।
सरकारले त्यतिबेला घुसपैठको सम्भावना भएकाले माइतीघरमा प्रदर्शन रोक्ने निर्णय लिएको थियो। तर जब युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागे, प्रशासनले सहजै अनुमति दियो। म स्वयंले पनि अघिल्लो दिन जेनजी सुझबुझ भएका हाम्रा युवाहरू अनुशासित र सचेत छन् भनेर सार्वजनिक रूपमा भनेको थिएँ। त्यसैले माइतीघरमा बिहान सुरु भएको जेनजी प्ररदर्शन शान्तिपूर्वक चल्यो न गोली चल्यो, न लाठी प्रहार भयो।
तर करिब १२ बजेतिर घुसपैठ गर्ने तत्वहरूले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लगिरहेका दृश्य सबैले देखेका छौँ। आयोजकहरूले बारम्बार घुसपैठ भएको जानकारी दिएर युवाहरूलाई घर फर्किन आग्रह पनि गरे। तर योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद् भवनसम्म पुर्याउन खोजे। किनकि उनीहरूलाई थाहा थियो संसद् भवन आक्रमण हुनथाले सुरक्षा निकायले कानुन अनुसार बल प्रयोग गर्नैपर्छ।
संसद भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले “आन्दोलन” होइन, “राज्यविरुद्धको हमला” मान्छ। संसद भवन भित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चल्यो, र त्यसपछि २ घण्टासम्म भएका घटनाले हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ।
यदि त्यस दिन सुरक्षाकर्मीले आफ्ना हतियार खोसिन दिएका भए? यदि संसद भवन जलेको भए? के त्यतिबेला पनि ज्यान जाने थिएन? विस्फोटक सामग्रीसहित आएका उनीहरू त्यसै फर्किन्थे ? ती समूहहरूको उद्देश्य नै अराजकता फैलाएर देशलाई हिंसामा धकेल्ने थियो भन्ने कुरा पछिल्ला घटनाहरूले स्पष्ट देखाउँछ।
फेरि भाद्र २४ गतेको विध्वंशलाई हेर्छु, मेरो राजीनामापछि नै सिंहदरवार राष्ट्रपति भवन सर्वोच्च अदालत लगायत सबै धरोहरहरु जलाईएको हो।
भाइबहिनीहरुलाई थाहा छ – संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको हुन्छ। उनीहरुले सरकारको आदेश होइन, कानुनको सपथ लिएका हुन्छन्। त्यस दिन पनि सरकारको आदेशमा गोली चलेको होइन, सरकारले आदेश दिएको पनि होइन।
म फेरि पनि स्पष्ट पार्न चाहन्छु –
तपाईंहरुको माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थियो ? थिएन। वानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म कुनै गोली चलेको थियो ?थिएन।
बालबालिकाहरूलाई घेरेर उनीहरूले यस्तो ठाउँमा पुर्याए, जहाँ कानुनले स्वतः गोली चलाउने आदेश दिन्छ।
म खुला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार छु। सामाजिक सञ्जालमा गरिएका गलत प्रचारमा नलाग्न सबै नागरिकलाई विनम्र आग्रह गर्छु। १९ जना नानीबाबुको मृत्युप्रति म अत्यन्त मर्माहत छु।
अन्त्यमा, एउटा आग्रह ग़र्न चाहन्छु
माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो कानुनले बल प्रयोग गर्नै पर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो?
यो प्रश्नको पनि जवाफ खोज्नुहोला ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ६ : ३७ बजे

रास्वपा उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न÷प्रतीक र राष्ट्रिय जनावरको

भदौ २३ गते गोली चलाउने आदेश नदिएको ओलीको स्पष्टिकरण, ‘भ्रमपूर्ण प्रचारमा नपर्न’ आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

श्री नेवा: सेवा समिति बुटवलद्वारा सामूहिक ईही र कय्ता पूजा माघ २१ र २२ गते आयोजना हुँदै

बुटवल । श्री नेवा: सेवा समिति बुटवलले विगतका वर्षहरूमा झैँ

आईसीसी टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी छैटौँ स्थानमा उक्लिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अन्तर्राष्ट्रिय

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । पूर्व-पश्चिम