६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को



धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ ।

विशेषगरी गत भदौमा भएको नवयुवाको आन्दोलनपछि राजनीतिमा उनीहरूको प्रत्यक्ष हस्तक्षेप बढेको छ । मधेस प्रदेशमा पनि त्यो अनुभूत भएको छ ।

जेनजी अभियानकर्मीहरूका अनुसार यो प्रतिनिधित्व पूर्ण रूपमा सन्तोषजनक भने छैन । उनीहरू भन्छन्, “सूचीमा केही युवा नाम देखिनु सकारात्मक सङ्केत हो, तर अझै पनि पहुँच र प्रभाव भएकाहरू नै प्राथमिकतामा परेको अनुभूति हुन्छ ।” यसअघि केही नयाँ र पुराना राजनीतिक दलहरूले समानुपातिकतर्फ प्रस्तुत गरेका उम्मेदवारहरूको सूचीमा पनि जेनजी आन्दोलनको भावना समेटिएको देखिए पनि ती नामहरू अधिकांशतः राजनीतिक पहुँच भएकै व्यक्तिहरू थिए ।

प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका उम्मेदवार बनेका छन् । उम्मेदवारहरुमध्ये दुई जना महिला र ५६ जना पुरुष छन् । निर्वाचन आयोगका अनुसार ४१ जना स्वतन्त्र र १२ राजनीतिक दलबाट १७ जना जेनजी पुस्ताका उम्मेदवार बनेका हुन् ।

जेनजी पुस्ताका उम्मेदवारको सङ्ख्या कम भए पनि स्थानीय राजनीतिक इतिहासका हिसाबले महत्त्वपूर्ण मानिन्छ । उज्यालो नेपाल पार्टी र जनमत पार्टीले तीनतीन जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएको छ भने श्रम संस्कृति पार्टीले दुई जनालाई खडा गरेको छ ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), आम जनता पार्टी (एकल चुनाव चिह्न), जनअधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टीले एकएक जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएको छ ।

उज्यालो नेपाल पार्टीले सिरहा क्षेत्र नम्बर ३ बाट २६ वर्षीय श्रवण पासवान, महोत्तरी क्षेत्र नम्बर १ बाट २८ वर्षीय मनोजकुमार गुप्ता र रौतहट क्षेत्र नम्बर २ बाट २५ वर्षीय रामाकान्तप्रसाद पटेललाई उम्मेदवार बनाएको छ ।

जनमत पार्टीले महोत्तरी क्षेत्र नम्बर १ बाट २७ वर्षीय वीरेन्द्र महतो, रौतहट क्षेत्र नम्बर २ बाट २८ वर्षीय सोनु कुशवाहा र रौतहट क्षेत्र नम्बर ४ बाट २८ वर्षीय राम कल्याण राउतलाई उम्मेदवार बनाएको छ ।

श्रम संस्कृति पाटीले सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट २६ वर्षीय पङ्कजकुमार ठाकुर र पर्सा क्षेत्र नम्बर १ बाट २८ वर्षीय वसिम शेषलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले पूर्वसांसद शिवपुजन यादवको छोरा २७ वर्षीय अमनिशकुमार यादवलाई सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्वप्रतिनिधिसभा सदस्य अमरेश सिंहलगायतका उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री भइसकेका २८ वर्षीय बब्लु गुप्तालाई सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ ।

नेकपाले बारा निर्वाचन क्षेत्र नम्बर ४ मा २७ वर्षीय अजय कुशवाहालाई खडा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा २७ वर्षीय अजयकुमार दास, नेपाल मजदुर किसान पार्टीले सप्तरी २ बाटै निलम कुमारीयादवलाई प्रत्याशी बनाएको छ ।

समाजशास्त्री नीलबहादुर लुम्रेको अनुसार यी युवा उम्मेदवारको साझा विशेषता ‘पुराना राजनीतिक दलकाशैलीप्रति असन्तुष्टि र नयाँ सोचसहितको हस्तक्षेप हो’ । उनीहरु सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासलाई प्रमुख एजेन्डा बनाउँदै मतदातासामु पुग्नु, सामाजिक सञ्जाल, प्रत्यक्ष भेटघाट र सामुदायिक छलफलमार्फत मतदातासँग सम्पर्कमा रहनु परम्परागत राजनीतिभन्दा फरक अभ्यासमा लाग्नुलाई समाजशास्त्री लुम्रे नवीन मान्छन् ।

राजनीतिक विश्लेषक शङ्कर महतोका अनुसार जेनजी उम्मेदवारहरूको उपस्थिति जित–हारभन्दा पनि दीर्घकालीन रूपमा राजनीतिक संस्कार परिवर्तनको सङ्केत हो । “यी युवाले जिते वा नजिते पनि उनीहरूको सहभागिताले आगामी निर्वाचनमा अझ बढी युवालाई प्रेरित गर्नेछ”, विश्लेषक महतो बताउँछन् ।

-रासस

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  १० : ०६ बजे

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका