१ भदौ २०८३, सोमबार | August 17, 2026

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न



नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ पुलमध्ये ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट-बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ ।

योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएसँगै नारायणघाट-बुटवल सडक योजना पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न भएका हुन् ।

यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ पुल र २५ मिटरभन्दा लामा १२ पुल निर्माण गर्नुपर्ने गरी निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले ठेक्का पाएको थियो । खनालले २२ वटा साना तथा १२ वटा ठूला गरी ३४ वटै पुलको निर्माण सम्पन्न भएको जानकारी दिए ।

साना पुल निर्माण सकिएर सञ्चालनमा आइसकेका भए पनि ठूला पुल निर्माणका क्रममा हुँदा सबै पुल सञ्चालनमा आइसकेका छैनन् । ‘गत साता चोरमारा बजारको गिरुबारी खोला पुल सञ्चालनमा आएसँगै यतिबेला ३३ वटा पुलबाट यातायात सञ्चालन भएका छन्’, इन्जिनियर खनालले भने, ‘यातायात सञ्चालन हुन बाँकी रहेको अरुण खोला पुलबाट पनि फागुन २१ गतेको निर्वाचनअगावै यातायात सञ्चालनमा ल्याउनेगरी पुलको फिनिसिङ तथा एप्रोच रोड (पहुँच मार्ग) निर्माणको कामलाई तीव्रता दिएका छौँ ।’ पूर्वी खण्डमा सडक विस्तारको काम तीव्रगतिमा अगाडि बढेको खनालले जानकारी दिए ।

यस खण्डको दाउन्नेमा कठिन भौगोलिक वनावट भएका कारण दाउन्ने खण्डमा केही कल्भर्ट निर्माणको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माण पनि अन्तिम चरणमा चलिरहेको खनालले बताए । नारायणघाटदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमध्ये दाउन्नेबाहेकका प्रायः सबै ठाउँमा कालोपत्र सडकबाट यात्रा गर्न सकिने खनालको भनाइ छ ।

सूचना अधिकारी इन्जिनियर खनालले नारायणघाट-बुटवल सडक विस्तार योजनाको पूर्वी खण्डको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको जानकारी दिए । पूर्वी खण्डमा दाउन्ने सडकखण्ड, अरुणखोलाको केही भाग र दुम्कीबासको केही भागबाहेक सबै ठाउँमा दुईतर्फी नै कालोपत्रको काम सकिएकाले यात्रा सहज बनेको खनालको भनाइ छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुन नसकेको उनले बताए ।

दुईतर्फी नै सडक कालोपत्र सकिएको ठाउँमा सडक लेन छुट्याउन लेन मार्किङको काम तथा सर्भिस लेन हुने ठाउँमा अतिरिक्त सर्भिस लेन निर्माणको काम भइरहेको उनले बताए । दाउन्नको १४ किमी सडकमध्ये पूर्वी खण्डमा चार किलोमिटर सडक पर्दछ । दाउन्नेमा अहिले बाँकी रहेको डाँडा काट्ने, बाँकी रहेका कल्भर्ट निर्माण गर्ने, बाटोको चौडाइ बढाउने, पहिरो जान सक्ने ठाउँमा तलैबाट जालीमा ढुङ्गा भर्नेलगायत काम भइरहेको भन्दै खनालले यस खण्डमा २१५ वटा कल्भर्ट निर्माण हुने जानकारी दिए ।

नारायणघाट-बुटवल सडक विस्तारका लागि नेपाल सरकारले चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडसँग २०७९ माघ २४ मा सम्झौता गरेको थियो । निर्माण सुरु भएको ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको सडक विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ । निर्धारित समयमा काम पूरा नभएपछि सरकारले निर्माणको कम्पनीको म्याद चारपटक थप गरी आगामी साउन ८ गतेभित्र सक्नेगरी अन्तिमपटक म्याद थप गरेको छ ।

११४ किलोमिटर लामो नारायणघाट-बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । दुवै खण्डको जिम्मा चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले पाएको छ । दुवै खण्डको लागत करिब १७ अर्ब रहेकामा एसियाली विकास बैंक (एडीबी)को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तारको काम भइरहेको छ । टेकराज पोखरेल/रासस

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १० : ५९ बजे

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार

काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा

परराष्ट्रको ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’ अर्थमा

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा

३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जितो १० लाखको बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कारका विजेताहरू