२१ माघ २०८२, बुधबार | February 4, 2026

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार



बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन हुने उद्योग क्षेत्रमा प्रविधि र आर्थिक लगानी गर्न तयारी रहेको बताएका छन् । भारतसहित युरोपेली मुलुकसम्म निर्यातको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक वातावरण रुपन्देहीमा देखिएको उनीहरूको निष्कर्ष छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको पहुँच, कच्चा पदार्थ आयातमा सहजता, पहाडसँग जोडिएको अनुकूल तापक्रम, पर्याप्त जनशक्ति तथा ढुवानीको सहज व्यवस्थाका कारण रुपन्देही उद्योग सञ्चालन र निर्यातका लागि उपयुक्त क्षेत्र भएको उनीहरूको अध्ययनले देखाएको छ । यही क्षेत्रबाट उत्पादन गरी भारत र युरोपसम्म निर्यात गर्न सकिने ठूलो सम्भावना रहेको उनीहरूले जनाएका छन् ।

प्रदेश सरकारसँग समन्वय गर्दै अघि बढेका लगानीकर्ताहरूले स्थानीय उद्योगीहरूसँग छलफल सुरु गरेका छन् । मलेसियाका स्टेवार्ड चेन, चीनका जोएसन छिन, भेलिरिन क्वीन र मार्क लाइकसहितको टोलीले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न क्षेत्रमा अध्ययन गरी फोहोरमैला प्रशोधनमार्फत विभिन्न वस्तु उत्पादन र ठूलो परिमाणमा निर्यात गर्न सकिने सम्भावना औँल्याएको छ । स्थानीय तहबाट सहकार्य भई कानुनी झन्झट नआए प्रविधि र लगानीमा साथ दिने उनीहरूको प्रतिबद्धता छ ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य विष्णु पन्थीको समन्वयमा गरिएको अध्ययनपछि टोली यहाँको औद्योगिक सम्भावनाबाट प्रभावित भएको हो । टोलीका नेतृत्वकर्ता तथा मलेसियाको जेबीसी र जेडीएफका अध्यक्ष स्टेवार्ड चेनले नेपालले आयातमुखी सोच त्यागेर निर्यातमुखी उद्योगतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

“दक्षिणतर्फ ठूलो जनसंख्या भएको भारत छ, यहाँ उद्योगका लागि प्रशस्त सम्भावना छन् । अब बाहिरबाट सामान ल्याउने होइन, निर्यात गर्ने योजना बनाउनुपर्छ,” उनले भने, “प्रविधि र लगानीको वातावरण हामी मिलाउन तयार छौँ । भारतपछि युरोपेली मुलुकमा निर्यात गर्न सकिन्छ ।”

भारतसँगको सीमामा ढुवानी समस्या नरहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय विमानस्थलको सुविधा उपयोग गरेर ढिलाइ नगरी औद्योगिक विकासतर्फ अघि बढ्नुपर्ने बताए । नेपालबाट भारतमा हाल निर्यात भइरहेका वस्तु र भविष्यमा सम्भावित उत्पादनबारे समेत गहिरो अध्ययन गरिएको उनको भनाइ छ ।

टोलीको भ्रमण संयोजन गरेका पूर्वमन्त्री पन्थीले कानुनी र स्थानीय विवाद नआए यस्ता विदेशी लगानीकर्ता धेरै आउने बताए । “चिनियाँ, मलेसियनलगायत विभिन्न देशका लगानीकर्ताले यहाँ ठूलो सम्भावना देखेका छन्, तर साना स्वार्थका विवादमा उनीहरू जोडिन चाहँदैनन्,” उनले भने, “फोहोरमैला प्रशोधनजस्तो सबै पालिकाको साझा समस्यालाई प्रविधिमार्फत समाधान गर्दै उत्पादन गर्ने योजना निकै सकारात्मक छ ।”

लगानीकर्ताको टोलीले रुपन्देही उद्योग संघसँग पनि विस्तृत छलफल गरेको छ । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले टोली यहाँको वातावरणप्रति सन्तुष्ट देखिएको बताउँदै निजी क्षेत्र र तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए ।

“चिनियाँ र मलेसियन लगानीकर्ताले यहाँ उत्पादन गरेर निर्यात गर्न सकिने विषयमा गम्भीर छलफल गरेका छन्,” उनले भने, “अब यस्तो उत्साहित लगानीकर्तालाई भित्र्याउन विशेष योजना बनाउनुपर्छ ।”

संघका महासचिव तथा युवा उद्योगी सुमन बस्यालले स्पष्ट योजना र प्रविधि लिएर आएका विदेशी लगानीकर्तासँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । “विश्वका धेरै लगानीकर्ता निर्यात सम्भावना भएका क्षेत्रमा अध्ययन गरेर मात्र लगानी गर्छन्,” उनले भने, “यसमा ढिलाइ गर्नु हुँदैन ।” संघले द्विपक्षीय सहकार्यको प्रस्ताव राख्दा टोलीले सकारात्मक प्रतिक्रिया दिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ४ : ५४ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता