२४ माघ २०८२, शनिबार | February 7, 2026

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना



गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड खोलामाथि निर्माण भएको झेँदी पक्की पुलबाट गाडी गुड्न थालेको छ । दुई पटक ढलानपछि भत्किँदा स्थानीयले पुल बन्ने आशा लगभग मारेका थिए । तर तेस्रो प्रयासमा पुल सफलतापूर्वक सम्पन्न हुँदा वडागाउँ-वामी क्षेत्रका बासिन्दाको दशकौँदेखिको सपना पूरा भएको छ ।

वामी र बडागाउँ जोड्ने झेँदी पक्की पुल पहिलो पटक २०७६ वैशाख १ गते नयाँ वर्षकै दिन भत्किएको थियो । त्यसपछि २०७७ वैशाख ३ गते पुनः ढलान गर्दा समेत पुल ढलेपछि स्थानीय झनै निराश बनेका थिए । करोडौँ लगानीमा बनेको संरचना दुई पटक भत्किएपछि निर्माण व्यवसायी मात्रै होइन, स्थानीयसमेत निराश थिए ।

बाढीका बेला खोलातर्न बनाइएको पुरानो झोलुङ्गे पुल २०७३ सालकै बाढीले जोखिमपूर्ण बनेको थियो । नजिकैको पक्की पुल पनि पटक-पटक भाँचिँदा वर्षातमा जोखिमपूर्ण झोलुङ्गे पुल र हिउँदमा फड्के प्रयोग गरेर आवतजावत गर्न स्थानीय बाध्य थिए । पक्की पुलकै आशमा कतिपय स्थानीयले घर जोखिममा पारेर सडक निर्माण गर्न दिएको स्मरण अझै ताजा छ ।

तर प्रत्येक पटक अनुगमनमा पुग्ने तत्कालीन सांसद तथा हाल नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं गुल्मी क्षेत्र नं. २ का उम्मेदवार गोकर्ण बिष्टले स्थानीयलाई निरन्तर आश्वासन दिँदै आए । “पुल बनाएरै छाड्छु” भन्ने उनको प्रतिबद्धताले निराश स्थानीयमा फेरि आशा पलाएको थियो ।

पुल नजिकैका प्रत्यक्षदर्शी मुसिकोट नगरपालिका-३ का बोमबहादुर कार्की भन्छन्, “धेरै बृद्धबृद्धा पुल बन्ने सपना देखेरै बिते, हामीले भने जिउँदै हुँदा प्रयोग गर्न पायौँ।” उनले दुई पटक भत्किएपछि पनि हार नमान्ने गोकर्ण बिष्टको प्रशंसा गरे । अर्का स्थानीय पदमबहादुर खत्रीले पनि हरेक पटक पुल भत्किँदा बिष्टले आफुहरूलाई भेटेर ढाढस दिएको स्मरण गरे ।

दुई पटक ढलानपछि भत्किएको झेँदी पुल तेस्रो पटक डिजाइन नै परिवर्तन गरेर निर्माण गरिएको हो । २०७३ सालमा जिल्ला प्राविधिक कार्यालय गुल्मीले कार्यान्वयन गरेको यो पुल तत्कालीन समयमा वाइटी जय बुद्ध कन्स्ट्रक्सन प्रालिले पाँच करोड १७ लाख रुपैयाँको लागतमा निर्माण सम्झौता गरेको थियो ।

दुई पटक असफल भएपछि गुल्मीको मुसिकोट नगरपालिका-३ वडागाउँ र वडा नं. ७ वामी जोड्ने झेँदी पुललाई स्टिल ट्रस कम्पोजिट ब्रिजका रूपमा पुनः डिजाइन गरी निर्माण गरिएको हो । स्विस सरकारको सहयोगमा भ्याटसहित पाँच करोड १७ लाख ५० हजार ६६५ रुपैयाँको लागतमा जलप कन्स्ट्रक्सन प्रालिले पुल निर्माण गरेको छ । निर्माण सम्झौता २०७९ वैशाख १८ गते भएको थियो । बडिगाड खोलामाथि बनेको पुलको लम्बाइ ५६.३० मिटर रहेको छ ।

पुल निर्माणमा तत्कालीन सांसद गोकर्ण बिष्टले निरन्तर चासो र पहल गरेको बताउँदै भने, “नागरिकसँग गरेका बाचा पूरा गर्न निर्माण व्यवसायी, सरकार र दातृ निकायसँग निरन्तर संवाद गरियो, त्यसैले पुल सम्भव भयो ।”

स्थानीय सरकारका तर्फबाट मुसिकोट नगरपालिकाले अनुगमन तथा सहजीकरण गर्दै आएको थियो । नगरपालिकाका मेयर जीवन खरेलले सबैको साझा चासो, चिन्ता र निरन्तर प्रयासका कारण तेस्रो पटकमा पुल निर्माण सम्भव भएको बताए ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ८ : ५० बजे

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

बेनी-जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडकको

आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आजदेखि, पहिलो दिन तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपको १० औं संस्करण आज (शनिबार)देखि

भत्किँदै उठेको झेँदी पुल : बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

गुल्मी । वर्षौँको प्रतिक्षा, निराशा र संघर्षपछि अन्ततः गुल्मीको बडिगाड