बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीब्र बनाएको छ । सो पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल क्षेत्र नं २, केन्द्रीय नेताहरु दधिराम न्यौपाने क्षेत्र नं १, खिमलाल भट्टराई क्षेत्र नं ५, प्रभावशाली नेताहरु बासुदेव घिमिरे क्षेत्र नं ३ र प्रमोद यादव क्षेत्र नं ४ बाट चुनावी मैदानमा पार्टी र आफ्ना योजनासहित पुगेका छन् ।
हरेक क्षेत्रमा अधिकांश वडा तहका निर्वाचन कार्यालय संचालन, विभिन्न भातृ-संगठनको भेला, विभिन्न जिल्लामा रहेका सम्पर्क कमिटीहरुको भेला सकेर उनीहरु आन्तरिक तयारीमा लागेका हुन् ।
सबै क्षेत्रहरुमा निर्वाचन परिचालन कमिटी बनाएर काममा खटाइएको र दैनिक ती कमिटीको योजनामै अब निर्वाचनको पूर्ण तयारीमा लागेको अध्यक्ष यज्ञ गैरे बताउँछन् ।
सबैभन्दा धेरै पार्टी सदस्यहरु र नेताहरु रहेको रुपन्देही २ मा पूर्वअर्थमन्त्री रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रचार अभियानलाई तीब्र बनाएका छन् । शनिबार मात्रै यो क्षेत्रमा पर्ने सैनामैना नगरपालिकाका वडा नं १,२, ३ र ४ को प्रचार कार्यालय उद्घाटन गरेर सो क्षेत्रमा आफ्नो प्रचार अभियानलाई तीब्र बनाएका छन् ।
सो अवसरमा बोल्दै पौडेलले अल्पकालीन र दीर्घकालीन विकासका वृहत योजनाका साथ मैदानमा आएको बताए । उनले अब भौतिक विकाससँगै मानवीय विकास गर्ने र रोजगारीका योजना अघि सार्ने मुख्य लक्ष्य रहेको बताए । उनले विकासको नमुना बनाउने केही योजना पूरा भएको, केही कार्यान्वयनको चरणमा रहेको र केही नयाँ योजना अघि बढेको भन्दै पार्टीका एजेण्डालाई अघि सारेर जान कार्यकर्तालाई अनुरोध गरे ।
नेता पौडेलले कोही कसैले छरेका भ्रमहरु चिर्न कार्यकर्ताले आफ्नो टोलबाटै जिम्मेवारी लिएर प्रष्ट पार्नुपर्ने जनतार्लाइ वास्तविक कुराहरु राख्नुपर्ने जनाएका थिए । शनिबारै उनले बौद्ध धर्मावलम्बीहरुको कार्यक्रममा सरिक भएका विभिन्न क्षेत्रमा रहेका पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए ।
क्षेत्र नं ३ मा एमालेको युवा विद्यार्थी भेला
नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै रुपन्देही क्षेत्र नं ३ मा चुनावी अभियानलाई तीव्र बनाएको छ । सोही क्रममा शनिबार भैरहवामा आयोजित युवा विद्यार्थी भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा युवा नेतृ शिवकुमारी चौधरीले मुलुकको समृद्धि र स्थायित्वका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताइन् ।
उनले युवाहरु परिवर्तनका संवाहक भएकाले सही नेतृत्व चयनमा युवाको भूमिका निर्णायक हुने धारणा राख्दै एमालेले अघि सारेका विकास र सुशासनका एजेन्डाले मात्र देशलाई सही दिशामा लैजान सक्ने बताइन् । कार्यक्रममा एमालेका रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बासुदेव घिमिरेले आफूले विगतमा निर्वाह गरेको जिम्मेवारी र अनुभवका आधारमा क्षेत्र नं। ३ को समग्र विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्दै रुपन्देही-३ लाई शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका क्षेत्रमा नमूना क्षेत्र बनाउने विषयमा आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै नेता घिमिरेले युवाको क्षमता र ऊर्जा राष्ट्र निर्माणको प्रमुख आधार भएको स्पष्ट पारे । वक्ताहरुले बासुदेव घिमिरे अनुभवी, काम गर्न सक्ने र जनताको बीचमा स्थापित नेता भएकाले उहाँलाई विजयी गराउन युवाहरु अग्रसर हुनुपर्ने धारणा राख्दै विकास, रोजगारी र गुणस्तरीय शिक्षाका मुद्दालाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा पार्टीका सिद्धार्थनगर अध्यक्ष चक्र थापा, पार्टी जिल्ला सदस्य लक्ष्मी केसी, कृष्ण मल्ल ठकुरी लगायतले धारणा राखेका थिए ।
क्षेत्र नं १ मा बढ्दै उत्साह
रुपन्देहीको क्षेत्र नं १ मा पनि उसैगरी चुनावी अभियान तीव्र बनाइएको छ । नेकपा एमालेले चुनावी अभियान अन्तर्गत तिलोत्तमा नगरपालिका-१२ मा निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन गरेको छ ।
सम्पर्क कार्यालयको उद्घाटन गर्दै रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार दधिराम न्यौपानेले देशको समग्र विकास र जनताको आवश्यकताहरू पूरा गर्न सक्ने पार्टी नेकपा एमाले मात्रै भएको बताए । साथै, सुकुम्बासी समस्या समाधानका लागि देवदह नगरपालिकाबाट लालपुर्जा वितरणको सुरुआत गरिएको र बाँकी कामहरू पनि एमालेकै नेतृत्वमा सम्पन्न हुने बताए ।
उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव छबिलाल विश्वकर्माले आफू संसदमा रहँदा रुपन्देही क्षेत्र नम्बर १ मा विकासका कामहरू तीव्र रूपमा अघि बढेको स्मरण गरे । सरकार परिवर्तनका कारण केही योजनाहरू अधुरा रहे पनि एमाले पुनः सरकारमा आए ती सबै काम पूरा गरिने उनको भनाइ थियो । उहाँले एमालेको नेतृत्वमा विकास र स्थायित्व सुनिश्चित हुने दाबी गरे ।
कार्यक्रममा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले नयाँ भनिएका दलहरूसँग जनताको पक्षमा ठोस योजना नभएको आरोप लगाए । त्यसैगरी, नेकपा एमाले तिलोत्तमा–१२ निर्वाचन परिचालन समितिका संयोजक यादव अर्यालले बजारमा जति नै हल्ला भए पनि अन्ततः जित एमालेकै हुने दाबी गरे ।
नेकपा एमाले तिलोत्तमा-१२ का पूर्वअध्यक्ष डिबी भण्डारीको स्वागतमा आयोजित कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव नागेश्वर यादवले गरेका थिए । यसैगरी क्षेत्र नं ५ मा केन्द्रीय सदस्य खिमलाल भट्टराई र ४ मा नेता प्रमोद यादवले आफ्नो अभियानलाई तीब्र बनाएका छन् । विभिन्न वडामा प्रचार कार्यालय उद्घाटनसँगै प्रचार अभियानमा लागेका छन् ।

















प्रतिक्रिया