नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार हुनुभएका ५६ मध्ये आठ जनाले मात्रै बैङ्क खाता खोलेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा चार, निर्वाचन क्षेत्र नं २ मा दुई र निर्वाचन क्षेत्र नं ३ मा दुई उम्मेदवारले मात्रै बैङ्क खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले खाता नखोलेका अन्य उम्मेदवारलाई पनि खाता खोल्न आग्रह गरिएको बताए ।
“बैङ्कमा खाता नखोलेका उम्मेदवारलाई ताकेता गरिरहेका छौँ,” उनले भने । निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत तथा अन्य खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि अलग बैङ्क खाता प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गरिएको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।
अनुगमन अधिृकृत खत्रीले निर्वाचन आयोगमा उम्मेदवारको नाम, सम्बन्धित दल, निर्वाचन क्षेत्र र बैङ्क तथा शाखाको विवरण उल्लेख गरी निर्वाचन आयोगमा अनुगमन प्रतिवेदन पठाइएको जानकारी दिँदै पारदर्शिता कायम गर्न र निर्वाचन खर्चको सही लेखाजोखा राख्न यसले सघाउ पु¥याउने बताए । उनले निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सबै उम्मेदवारले तोकिएको नियमअनुसार छुट्टै खाता प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसले निर्वाचन खर्च नियन्त्रण, कालोधन प्रयोग न्यूनीकरण तथा स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
यसैबीच मतदाता शिक्षाका लागि स्थानीय तहमा अधिकृत तहका कर्मचारीलाई तालिम दिइएको छ । जिल्लाको आठ स्थानीय तहका आठ जनालाई सो तालिम दिइएको र तालिम पाएका अधिकृत कर्मचारीले आफ्नो पालिकामा रहेका स्वयंसेवकलाई तालिम दिन सुरु गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्वयंसेवकलाई प्रदान गरिने तालिम केहीले सम्पन्न गरिसकेको र केहीले आज नै गर्न लागेको जानकारी दिँदै जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले आइतबारदेखि मतदाता शिक्षा सुरु गरिने बताए ।
जिल्लाको नेपालगन्ज उपमहानगरपालिकामा २३, कोहलपुर नगरपालिकामा १५, राप्तीसोनारी गाउँपालिकामा ९, नरैनापुर गाउँपालिकामा ६, डुडुवा गाउँपालिकामा ६, जानकी गाउँपालिकामा ६, बैजनाथ गाउँपालिकामा ८ र खजुरा गाउँपालिकामा ८ वडा रहेका छन् । यी सबै वडामा बदर मत घटाउने उद्देश्यले प्रत्येक वडामा एक–एक स्वयंसेवक परिचालन हुनेछन् । बाँकेमा कुल ८१ वडा कार्यालय छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख शाहीका अनुसार नमूना मतपत्रमार्फत मत सङ्केत गर्ने, कागजात मिलाएर लैजाने लगायतका विषय गाउँ, बस्तीमा स्वयंसेवकले सिकाउने छन् । मतदाता शिक्षा फागुन ३ गतेदेखि १७ सम्म सञ्चालन हुनेछ । “यसको मुख्य उद्देश्य बदर मत घटाउने नै हो,” उनले भने ।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल मतदाताको सङ्ख्या तीन लाख ५० हजार ३७१ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १३९ मतदानकेन्द्र र ४०० मतदानस्थल छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म दुई हजार ३३८ अस्थायी मतदाताका रुपमा समेत दर्ता भएका छन् ।

















प्रतिक्रिया