५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

गोकर्णको सपना : गुल्मी राष्ट्रिय प्रसारण लाइनमा जोडियो, १३२ केभी विद्युत प्रवाह सुरु



गुल्मी । लामो प्रतीक्षापछि गुल्मी जिल्ला राष्ट्रिय विद्युत प्रसारण प्रणालीसँग जोडिएको छ । यससँगै दैनिक विद्युत अवरुद्ध भएर सास्ती खेप्दै आएका स्थानीय नागरिकलाई राहत मिल्नुका साथै जिल्लामा आर्थिक विकासका नयाँ सम्भावनाहरू खुलेका छन् ।

उनायचौर-पौदी-बुर्तिबाङ प्रसारण लाइनको सफल परीक्षणपछि मंगलबारदेखि १३२ केभी विद्युत प्रवाह सुरु भएको हो । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आयोजनास्थलको अनुगमन तथा निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा उनले राष्ट्रिय प्रसारण लाइनसँग जोडिनु गुल्मीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । विद्युत अभावका कारण रोकिएका उद्योग सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै उनले उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई अवसरको सदुपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्न आग्रह गरे । उनले विद्युत पूर्वाधार विस्तारको मुख्य उद्देश्य देशको अर्थतन्त्रलाई टेवा पुर्‍याउनु रहेको उल्लेख गर्दै पर्याप्त विद्युत उपलब्धतासँगै पहाडी जिल्लामा कृषि तथा उद्योग क्षेत्रमा लगानी बढ्ने सम्भावना रहेको बताए ।

रेसुङ्गा नगरपालिका-७ उनायचौरस्थित सबस्टेशनदेखि बागलुङको बुर्तिबाङसम्मको १३२ केभी प्रसारण लाइन परीक्षणपछि सञ्चालनमा ल्याइएको हो । गुल्मीमा उनायचौर र मुसिकोट नगरपालिका-१ पौदी अमराईमा दुईवटा सबस्टेशन निर्माण गरिएका छन् ।

आयोजना प्रमुख इन्जिनियर मनोज चौधरीका अनुसार कपिलवस्तुको मोतिपुरदेखि सन्धिखर्क, तम्घास हुँदै बुर्तिबाङसम्म करिब ८६ किलोमिटर क्षेत्रमा पाँचवटा सबस्टेशन र २४८ वटा टावर निर्माण गरिएको छ । हालसम्म सबस्टेशन तथा प्रसारण लाइन विस्तारमा चार अर्ब ६१ करोड ६२ लाख ७३५ रुपैयाँ खर्च भएको छ । आयोजनामा नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहेको छ ।

उनले एउटै जिल्लामा दुईवटा सबस्टेशनसहित राष्ट्रिय प्रसारण लाइन विस्तार हुनु गुल्मीका लागि विशेष उपलब्धि भएको बताए । “योजनाको सफल परीक्षणले हामी खुसी छौं, तर यसबाट सबैभन्दा बढी लाभ गुल्मेली नागरिकले लिनेछन्,” उनले भने ।

पूर्व ऊर्जा मन्त्री गोकर्ण विष्टले आफूले अघि बढाएको महत्वपूर्ण आयोजना सफल भएकोमा गर्व लागेको बताए । अब उद्योग तथा उत्पादन क्षेत्र विस्तारमार्फत स्थानीय आर्थिक समृद्धि हासिल गर्ने अवसर सिर्जना भएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि नागरिक जीवनसँगै सरकारी सेवा प्रवाहमा समेत सहजता आएको बताए । बारम्बार हुने विद्युत अवरोधका कारण सेवा प्रवाहमा समस्या आउने अवस्था अन्त्य भई अब नियमित सेवा प्रदान गर्न सहज हुने उनले उल्लेख गरे ।

राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै गुल्मीमा औद्योगिक विकास, रोजगारी सिर्जना तथा बसाइँसराइ नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ३ : ४८ बजे

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेदवार खत्री

देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर-१ मा नेपाली

रुपन्देहीमा उन्नत गहुँ खेतीसम्बन्धी एकहप्ते तालिम, नयाँ जात र प्रविधिमा किसानलाई प्रशिक्षण

रुपन्देही । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत उन्नत गहुँ खेती

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक