बागमती । बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन कार्यालय हेटौँडाद्वारा मकवानपुर र चितवनमा सञ्चालित आधा दर्जन योजनाको काम सम्पन्न भएको छ ।
निर्धारित समयमा योजनाहरु सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको काम सम्पन्न भएको हो ।
कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर भुपेन्द्रकुमार यादवले हेटौँडा अस्पतालको भवन निर्माणकार्य सम्पन्न भई हस्तान्तरणका क्रममा रहेको जानकारी दिए गत २०८१ असार मसान्तसम्म समयावधि भए पनि अस्पतालले जग्गाको व्यवस्थापनमा ढिलाइ हुँदा केही बढी समय लागेको उनले बताए ।
उक्त कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन निर्माणको काम आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भइसकेको छ ।
यस्तै, प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा भवन निर्माण कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । हाल उक्त भवनमा जेनजी आन्दोलनपश्चात् बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अस्थायी रूपमा सञ्चालनमा छ ।
चितवनको भरतपुर महानगरपालिका–२२ स्थित कमलपोखरी संरक्षण तथा सौन्दर्यीकरणको काम पनि सम्पन्न भएको प्रमुख यादवले जानकारी दिए। उनकाअनुसार हेटौँडाको रातमाटे पावरहाउस चौक कमाने–भोर्ले सडकमा ढलानको काम सम्पन्न भएको छ ।
प्रकाशित मिति :
८ फाल्गुन २०८२, शुक्रबार १ :
२९ बजे
प्रतिक्रिया