देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय समस्याको समाधान नेकपा एमालेले मात्र दिन सक्ने दाबी गरेका छन् । उनले एमालेको बहुमत सरकारबिना देशले राजनीतिक तथा आर्थिक निकास पाउन नसक्ने उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ओमसतिया-१ मा एमालेको प्रचार-प्रसार कार्यालय तथा घरदैलो अभियानको उद्घाटन कार्यक्रममा बोल्दै नेता विश्वकर्माले यस्तो धारणा व्यक्त गरेका हुन् । पूर्व प्रतिनिधिसभा सदस्य समेत रहेका उनले एमाले नेतृत्वले क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण योजना अघि सारेको र ती योजनालाई पूर्णता दिन एमालेको विजय अपरिहार्य रहेको बताए ।
नेता विश्वकर्माले दशगजा क्षेत्रदेखि पाल्पा जोड्ने पूर्वाधार विकास योजनासमेत एमाले नेतृत्वले अघि बढाएको जानकारी दिँदै ती योजनाले क्षेत्रीय विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त ग रे।
उक्त कार्यक्रममा बोल्दै एमालेका प्रतिनिधिसभा उम्मेदवार दधिराम न्यौपानेले कृषिको विकास नै देशको समृद्धिको प्रमुख आधार भएको बताए । उनले रुपन्देही क्षेत्र नम्बर १ मा कृषिको व्यापक सम्भावना रहेको उल्लेख गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर समग्र क्षेत्रको आर्थिक विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एमालेका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।


















प्रतिक्रिया