१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार



काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया) मार्फत मात्र भेट्ने गर्दछन् । कैयौँ देशका उम्मेदवारले आफ्ना योजना, कार्यक्रम अर्थात् एजेन्डा टेलिभिजन बहसका माध्यमबाट राख्ने गरेको पाइन्छ । अहिले त यस्ता बहसका लागि युट्युब लगायत अन्य ‘सोसिलय प्लेटफर्म’ पनि उपलब्ध छन् । अनि जनताले यसैमार्फत् ती उम्मेदवारप्रति धारणा बनाउँछन् । उम्मेदवारका योजना, कार्यक्रमप्रतिको प्रतिक्रिया पनि मिडियामार्फत् नै दिने गर्दछन् । त्यसैले निर्वाचनमा मिडियाको भूमिका माध्यम मात्र नभएर साधन नै हो भन्दा पनि हुन्छ ।

एकराज पाठक

चुनावका बेलामा उम्मेदवार, मतदाता र मिडियाका बीचमा त्रिपक्षीय सञ्चार अर्थात् सम्बन्ध स्थापित हुने गर्दछ । मिडिया, मतदाता र उम्मेदवार यो साइकलमा आपसी सम्बन्ध राख्छन् र एकले अर्काप्रति गर्ने सञ्चारको माध्यम नै बन्ने गर्दछन् । मिडिया अन्यत्र पहरेदार बनेजस्तै यहाँ भने मतदाता र उम्मेदवारका विचार प्रवाहका माध्यम र एक अर्काका सेतु बन्ने गर्दछन् । यतिखेर पनि नेपालमा मिडियाको भूमिका यस्तै नै छ । उम्मेदवार र मतदाताबीचका धेरै कुरा मिडिया मार्फत् नै सञ्चार भइरहेको देखिएको छ ।

आफूले मत दिनुपर्ने उम्मेदवारको छनोटका लागि हिजो उसले के काम गरेको थियो र भोलिका एजेन्डा र प्रतिबद्धता के हुन् भन्ने जानकारी नागरिक अर्थात् मतदाताले मिडियामार्फत नै लिने गर्दछन् । यी सबै सूचना प्राप्त गर्न तथा उम्मेदवार र मतदाताका बीचमा प्रभावकारी रुपमा सञ्चार गर्न मिडिया बाहेकको अर्को कुनै प्रभावकारी माध्यम नागरिकसामु छैन । त्यसैले निर्वाचनका बेला मिडियाका लागि अलग्गै आचारसंहिता जारी हुन्छ र मिडियाको भूमिकाको कुशल व्यवस्थापन आवश्यक पनि रहन्छ । चुनावका समयमा नागरिकले आफ्ना राजनीतिक दल या उम्मेदवारप्रतिका अपेक्षा, माग, गुनासा र समस्या राख्ने भरपर्दो माध्यम मिडिया नै हुन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक र त्यसअघिका राष्ट्रपति बाराक ओबामा पनि त्यहाँको सरकारी तहमा अथवा कुनै राजनीतिक दलको उच्च ओहदामा रहेर चिनिएका व्यक्ति थिएनन् । निर्वाचन अभियानमा मतदाताले उनीहरूका विचार, योजना र कार्यक्रमलाई मन पराए र मत दिए । अनि उनीहरुका विचार तथा कार्यक्रमलाई जनतासँग साक्षात्कार गराइदिने काम मिडियाले नै गरेका हामीले देखेका थियौँ ।

अर्को एउटा फरक प्रसङ्क के छ भने कतिपय देशमा मिडियाले नै कुनै उम्मेदवारलाई मत दिनुपर्ने तर्क नै अघि सार्ने पनि गरेका हुन्छन् । तर नेपालमा भने निर्वाचनका समयको मिडियाको यो कार्य अपवाद बन्न सक्छ, किनभने यहाँ मिडियाले त्यसो गर्दा कुनै उम्मेदवार या पार्टी विशेषको पक्षधरता लिन पनि सक्छन् । कुनै पार्टी या उम्मेदवारलाई मत दिनुपर्ने कारण मिडियाले सार्वजनिक रुपमै प्रस्तुत गरिदिन्छन् तर कुनै पक्षधरता नभएर विषयका आधारमा । मिडियाका ती तर्क र कारणहरु कसैप्रति विभेदपूर्ण हुँदैनन्, तथ्यमा आधारित हुन्छन् । यस्तो कार्य मिडियाले स्वतन्त्र र तटस्थ रुपमा गरेको हुन्छ । मिडियाले सार्वजनिक रुपमा स्थापित गरिदिएको यो परिस्थितिबाट नागरिकलाई पनि आफूले मत दिने उम्मेदवार छन्न सहज हुने गर्दछ । यस कामका लागि मिडियाले कुनै उम्मेदवारलाई धोइ पखाली नगरी जस्ताको तस्तै प्रस्तुत गरिदिन्छ । मिडियाले तर्क या आधारविना नै कुनै पक्ष, उम्मेदवार या पार्टी विशेषको पक्षधरता लिएर वकालत गर्न भने मिल्दैन ।

यो पनि एक प्रकारको मतदाता शिक्षा नै हो र यसले नागरिकलाई आफ्नो लोकतान्त्रिक अधिकार कसरी प्रयोग गर्ने भनेर जानकारी प्रदान गर्ने गर्दछ । मिडियाले हरेक नागरिकलाई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने अथवा निर्वाचनमा मतदान गर्ने तरिकाका बारेमा शिक्षा प्रदान गर्दछ । यसमा दुई प्रकारको सन्देश हुन्छ । पहिलो नागरिकले किन आफ्नो मताधिकार प्रयोग गर्ने भन्ने हुन्छ भने अर्को प्रक्रियागत रुपमा नै मतदान कसरी गर्ने भनेर दिइने जानकारी समेटिएको हुन्छ । यी दुई सन्दशेमा नै सही र राम्रो विधायक किन र कसरी छान्ने भन्ने कुरा पनि पर्दछ ।

निर्वाचन प्रक्रियाको रिपोर्टिङ गर्ने क्रममा नै राजनीतिक पार्टी र उम्मेदवारलाई मतदातासँग संवाद गर्ने अवसर मिडियाले जुटाइदिन्छन् । सर्वसाधारणले आफ्ना जिज्ञासा र गुनासा, सरोकार, विचार र आवश्यकताका बारेमा राजनीतिक दल, उम्मेदवार, निर्वाचन गर्ने निकाय, सरकार तथा आफूजस्तै मतदातालाई जानकारी दिने र आपसी अन्तक्र्रिया गर्ने अवसर पनि मिडियाले नै प्रदान गर्ने गर्दछन् ।

यसरी मिडियाले सामाजिक उत्तरदायित्वको सिद्धान्तको आत्मसात गरी निर्वाचनका समयमा काम गर्ने गर्दछ । निर्वाचन प्रणालीबारे साक्षरता बढाउने विधिका रूपमा पनि मिडियाको भूमिका रहन्छ । कम मत खस्ने तथा खसेका मतमध्ये पनि कतिपय मत बदर हुने जस्ता समस्याको समाधान गर्न मिडियाले प्रशिक्षकको भूमिका मार्फत योगदान गर्न सक्छ ।

लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो । जब कुनै पनि बहाना खोजेर निर्वाचन ‘आज नगरौँ पछि गरौँ’ भन्ने प्रपञ्चमा कुनै सरकार लाग्छ भने त्यो सरकारमा स्वतः लोकतान्त्रिक आचरणको कमी देखिन्छ । भनिन्छ, प्रजातन्त्रमा जनताले निर्वाचित नगरेका कुनै व्यक्तिले शासन गर्न पाउँदैनन् । दुनियाँमा विद्यमान लोकतन्त्रको मान्यता पनि यही हो । लोकतन्त्रलाई जीवन भर्न आवश्यक पर्ने केही तत्वमध्ये निर्वाचन सबैभन्दा महत्वपूर्ण र अत्यावश्यक तत्व हो । अनि आवधिक निर्वाचनलाई निष्पक्ष रूपमा सफल बनाउन सुसूचित नागरिकको सहभागिता पनि त्यत्तिकै आवश्यक पर्दछ । त्यसैले निर्वाचनका समयमा मिडियाको महत्व रहेको हुन्छ ।

विश्वका बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्था भएका लोकतान्त्रिक राज्यमा स्वीकारिएको मत र विधि निर्वाचन नै हो । त्यसैले निर्वाचन र यससँग जोडिने हरेक प्रक्रियामा मिडियाको भूमिका महत्वपूर्ण र संवेदनशील रहने गर्दछ । मतदाताको मत दिने अधिकार हो भने उम्मेदवारको मत माग्ने अधिकार । यी दुवै अधिकारको सम्मान मिडियाबाट पनि सम्यक रुपमा हुनुपर्दछ । कुनै उम्मेदवारले आफ्नो मतमाग्ने अधिकार प्रयोग गरेको अवस्थालाई पक्षधरता लिएर माथि पुर्याइदिने र अर्को कुनै उम्मेदवारले त्यही अधिकार प्रयोग गर्दा त्यसमाथि उपेक्षा गरिदिने जस्ता मिडियाका व्यवहार असन्तुलित ठहरिन्छन् ।

किनभने त्यहाँ मतदाता एकैथरि छन् तर उनीहरुसँग मत माग्ने उम्मेदवार भने कैयौँ छन् । चुनावका बेलामा मिडियाले पुर्याउनुपर्ने खास विवेक भनेकै यही हो । जुन पक्षधरताविहीन हुनुपर्दछ र सबै दल, उम्मेदवार र मतदाताप्रति सन्तुलित र सम्यक दृष्टिकोण राख्नुपर्दछ ।

अघिल्लो अर्थात् विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनलाई पनि एउटा सफलताको कथाका रुपमा हामीले लिन सक्दछौँ । किनभने शान्ति सुरक्षासहित एकैदिन देशभर मतदान, निष्पक्ष निर्वाचन, पर्चा पम्प्लेट बिना नै देशव्यापी रुपमा गरिएको चुनाव प्रचार, सामाजिक सञ्जालामा देखिएको मिथ्या सूचना र भ्रमपूर्ण अभिव्यक्तिको नियन्त्रण त्यस चुनावका राम्रा उदाहरणहरु हुन् । मिडियाले यी राम्रा उदाहरणलाई सफलताका कथाका रूपमा प्रचार गरिदिने हो भने यसले निर्वाचनसम्बद्ध निकाय र कर्मचारीलाई अबका निर्वाचनमा पनि राम्रा र सकारात्मक उदाहरणलाई अनुसरण गर्न प्रेरणा मिल्नेछ । त्यसैगरी पछिल्लो समयमा घट्दै गएको बदर मत सङ्ख्या तथा राजनीतिक दलहरुले आफैँले आफ्ना निर्वाचन क्षेत्रमा पुगेर दिएका जानकारीहरु पनि निर्वाचनका सकारात्मक उदाहरण हुन् ।

त्यसैले निर्वाचनका समयमा मिडिया आफैँ स्वतन्त्र र निष्पक्ष हुनु जरुरी छ । कतै ढल्किएको या तर्किएको मिडियाका कारण निर्वाचनको निष्पक्षतामाथि नै असर गर्न सक्छ । मिडियाको तागत निष्पक्षता, स्वतन्त्रता र निर्भयतामा नै छ । कसैको लोभलालचमा फसेको मिडियासँग दरिलोसँग प्रश्न गर्ने दम नै हुदैन । अभाव, दबाब र प्रभावबाट मुक्त मिडियाले मात्र सही प्रश्न उठान गर्न सक्छ र सामाजिक चेतनाका लागि जनता जगाउन सक्छ । अनि यस्ता मिडियाले मात्र मुलुकमा निष्पक्ष निर्वाचनका लागि सघाउन सक्छ ।

यसकारण मिडिया सदैव स्वतन्त्रता भन्ने शब्दसँगै जोडिएर आउने गर्दछ । स्वतन्त्रता र निष्पक्षता मिडियाको स्वभाव र कामका पर्यायवाची शब्द हुन् । कुनै खेलका ‘रेफ्री’ ले जति निष्पक्षतापूर्वक खेल सञ्चालन गर्न सघाउँछ त्यति नै त्यो खेल मर्यादित भएजस्तै मिडियाले पनि ‘रेफ्री’को भूमिका निर्वाह गर्नसक्दा सामाजिक मर्यादा कायम रहन्छ । निर्वाचनका बेलामा पनि मिडियाको यस्तै भूमिका सर्वत्र अपेक्षित हुन्छ ।

समग्र मिडिया एवं सामाजिक सञ्जालका प्रयोगकर्ताले पनि आजका दिनमा बुझ्नुपर्ने कुरा के हो भने अहिलेको निर्वाचन फरक र विशेष खालको हो । हुनत सबै निर्वाचनले कुनै न कुनै सन्देश र फरक अवस्था या प्रसङ्ग बोकेकै हुन्छ । तर पनि देशमा भएका धेरै पटक र खालका आन्दोलनमध्ये गत भदौमा भएको आन्दोलन फरक विषय र परिवेशको थियो । कुनै राजनीतिक पार्टीले अघि सारेको नभएर जेनजी पुस्ताले थालेको आन्दोलनबाट नै राज्यसत्तामा ठूलो परिवर्तन आयो र अहिले त्यो आन्दोलनको छ महिनामा नै निर्वाचन हुन गइरहेको छ ।

सो आन्दोलनले शासन सत्तमा युवा पुस्ताको सहभागिता र सुशासनको प्रत्याभूतिको माग अघि सारेको थियो । यिनै दुई परिस्थितिको आवरणभित्र यो चुनाव हुन गइरहेको छ । त्यसैले यो चुनाव आवधिक नभएर आकस्मिक हो र सहज नभएर असहज अवस्थामा हुन गइरहेको छ । यस पटकको निर्वाचनमा अघिल्ला निर्वाचनमा जस्तो तयारीका लागि आवश्यक समय पनि थिएन । यसकारण पनि यो निर्वाचनको विशेषता र विशिष्ठता बुझेर देशका मिडिया तथा सबै राज्य संयन्त्रले आवश्यक सहयोग गर्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ११ : २९ बजे

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि

होलीको शुभकामना दिँदै प्रचण्डले भने-‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक