१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न हुने आम निर्वाचनमा सक्रिय र उत्साहपूर्ण सहभागिता जनाउन सम्पूर्ण मतदातालाई आग्रह गरेकी छन्।

सोमबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै कार्कीले मुलुक फेरि एक ऐतिहासिक मोडमा उभिएको उल्लेख गरिन् र आफ्नो तथा भावी पुस्ताको भविष्य सुरक्षित गर्न मतदान गर्नुपर्ने आवश्यकता औंल्याएकी हुन् ।

प्रधानमन्त्री कार्कीले राजनीतिक स्थायित्व र समृद्धिको दिशामा देशलाई अघि बढाउन निर्वाचन निर्णायक माध्यम भएको बताइन्। मतदानलाई केवल चुनाव चिन्हमा छाप लगाउने प्रक्रिया मात्र नभई राष्ट्रको दीर्घकालीन मार्ग तय गर्ने जिम्मेवारीपूर्ण निर्णयका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

निर्वाचनको तीन दिनअघि सम्बोधन गर्दै उनले भनिन्, “भोट हाल्नु भनेको कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त आफ्नो र आफ्ना सन्तानको भविष्य कस्तो बनाउने भन्ने विषयमा लिइने महत्वपूर्ण निर्णय हो।”

आफ्नो कार्यकाल स्मरण गर्दै प्रधानमन्त्रीले ‘जेन–जी आन्दोलन’ पछि उत्पन्न जटिल र संवेदनशील परिस्थितिमा सरकारको नेतृत्व सम्हालेको बताइन्। सडकमा देखिएको युवा असन्तोष र अन्योलपूर्ण अवस्थाबाट मुलुकलाई हिंसातर्फ जान नदिई शान्तिपूर्ण निकासतर्फ डोर्‍याउनु र संविधानसम्मत प्रक्रियामा फर्काउनु आफ्नो सरकारको प्रमुख उपलब्धि भएको उनले दाबी गरिन्।

“हामीले कठिन सङ्क्रमण पार गरेका छौँ। विधिको शासन सुदृढ गर्दै स्थिरता कायम गर्न सफल भएका छौँ,” उनले भनिन्।

प्रधानमन्त्रीले निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत तथ्यहीन सामग्री र भ्रामक सन्देश फैलाएर वातावरण बिगार्ने प्रयास भइरहेकाप्रति सरकार सजग रहेको स्पष्ट पारिन्। कुनै पनि प्रकारको दण्डहीनतालाई सहन नगर्ने चेतावनी दिँदै उनले कानुनअनुसार कडाइका साथ कारबाही गरिने बताइन्।

सरकार र निर्वाचन आयोग स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न पूर्ण तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्रीले मौन अवधिमा सबै राजनीतिक दल र सरोकारवालालाई आचारसंहिता पालना गर्न आग्रह गरेकी छन्।

 

यस्तो छ सम्बोधनको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
नमस्कार !
आज म एउटा विशेष घडीमा तपाईँहरूसँग मनका केही कुरा राख्न चाहन्छु।
हाम्रो देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको छ।
आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ।
तर, त्योभन्दा अगाडि हाम्रो सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिमा परेको छ। रङ्गहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण छन्।
मैले यो जिम्मेवारी सम्हाल्दाको समय तपाईंहरू सबैलाई सम्झना नै छ।
जेन-जी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो। सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो।
त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो।
आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ। यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो।
अब मेरो पहिलो आग्रह तपाईँ मतदाताहरूसँग छ:
देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्।
भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।
तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।
दोस्रो कुरा- निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो।
चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन।
म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो।
साथै मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक-अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार-प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गर्दछु।
यस महान् कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु। तपाईँहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ।
निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको छ। निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध छन्।
प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्‍याएका छन्।
नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत-साधन परिचालन गरेका छन्।
सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ।
छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेका छौँ।
निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई म धन्यवाद दिन चाहन्छु। साथै, संयुक्त राष्ट्र संघीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी छौँ।
सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईँहरुलाई जानकारी गराउँदछु।
साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु।
आज सम्पूर्ण देशवासीलाई अर्को के कुरामा आश्वस्त पार्न चाहन्छु भने, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन।कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन।
तेस्रो, हाम्रो उत्सवको कुरा ।
निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ। यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु।
यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ।
निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस्।
तर, म आग्रह गर्छु- होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ।
चौथो- एक गम्भीर विषय।
आज संसारको अर्को कुनामा, मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ। इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ।
विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो।
त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ।
हामी हरदम तपाईँहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ।
अन्त्यमा, इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु।
मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ।
आउनुहोस्, होलीको खुसी साटौँ। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ।
धन्यवाद।
२०८२ फागुन १८ गते सोमबार ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १ : ०७ बजे

प्रलोपा गण्डकी अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामै फर्किए

बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल वा समर्थन गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही क्षेत्र नं २

उपेन्द्र यादवको अपील – ‘भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको