सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
शुक्रबार साँझ बरहथवा नगरपालिका-१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको स्कारपियोले बिहेमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी घाइते भएका बरहथवा नगरपालिका-९ निवासी करिब ५० वर्षीय नारायण जर्गा मगरलाई उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा चिकित्सकले शुक्रबार मृत घोषणा गरेका हुन् ।
घाइते हुनेहरूमा रौतहट दोस्तिया पिपरिया निवासी ७० वर्षीय कमल पटेल, रौतहट गढीमाई नगरपालिका-११ निवासी विकास पटेलकी श्रीमती करिब ४५ वर्षीया बन्धना पटेल, बरहथवा-१० निवासी १८ वर्षीय रुपेश मण्डल, १५ वर्षीया प्रतिमाकुमारी पटेल, १९ वर्षीय दिलीप राय, बरहथवा-७ निवासी २३ वर्षीय चन्दन पासवान, बरहथवा-१० निवासी १२ वर्षीया दीपिका जैसवाल, २० वर्षीय रामजी राय, २३ वर्षीय मुकेश राउत, ५५ वर्षीय रामनारायण ठाकुर र उनकी श्रीमती ४५ वर्षीया गुलाबकुमारी मण्डल रहेका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको बरहथवास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्कारपियो चालक बरहथवा नगरपालिका-१२ लौकठ निवासी करिब ४० वर्षीय नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।


















प्रतिक्रिया