१ चैत्र २०८२, आइतबार | March 15, 2026

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो



म्याग्दी । २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका-७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो ।

आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६ बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको जानकारी दिए । ‘नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो’, उनले भने, ‘परीक्षण सफल भएपछि १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ ।’

हालको सुक्खायाममा १३.८६ मेगावाट विद्युत् उत्पादन भएको आयोजना प्रमुख यादवले बताए । बाँध, विद्युतगृह, पाइप लाइन, प्रसारण लाइन र विद्युतगृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकेर परीक्षण उत्पादन थालिएको हो ।

२०८० सालमा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइप लाइन र ३०० मिटर सर्च साफ्ट पाइप लाइन जडान, फेदीमा विद्युतगृह निर्माण भएको छ । दुईवटा युनिट (टर्वाइन) रहेको विद्युतगृह परिसरमा स्वीचयार्ड निर्माण भएको इन्जिनियर सञ्जीव न्यौपानेले बताए ।

यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर छ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइएको छ । फेदीदेखि तिल्केनीचौरसम्म प्रसारण लाइनको दूरी २३.५ किलोमिटर छ ।

पाँच अर्ब १४ करोड लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ ।

बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक गत वैशाख-जेठमा स्तरोन्नतिका कारण र बर्खामा मलाङको पहिरोका कारण अवरुद्ध हुँदा विद्युतगृह, प्रसारण लाइन र स्वीचयार्डका उपकरण ढुवानीमा समस्या भएको थियो ।

राहुघाट र सहायक नदीहरूमा यसअघि तीनवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्द्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला-राहुघाट-मङ्गले र त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।

राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ७ : ५४ बजे

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको