पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु भएको पहिलो दुई हप्तामै करिब ८०० मिलियन अमेरिकी डलर (झण्डै ७५ अर्ब २० करोड रुपैयाँ) बराबरको क्षति भएको एक नयाँ अध्ययनले देखाएको छ।
यो तथ्य सेंटर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज (CSIS) को प्रतिवेदन तथा बीबीसीको विश्लेषणमा सार्वजनिक भएको हो।
रिपोर्टअनुसार अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेपछि पहिलो सातामै इरानले गरेको प्रतिआक्रमणका क्रममा सबैभन्दा ठूलो क्षति भएको देखिएको छ।
हालसम्म इरानले अमेरिकी सैन्य संरचनामाथि गरेको आक्रमणबाट भएको कुल क्षतिको पूर्ण विवरण भने अझै स्पष्ट भइसकेको छैन। तर अनुमानित ८० करोड डलर बराबरको नोक्सानीले संघर्ष लम्बिँदै जाँदा अमेरिकाले ठूलो मूल्य चुकाउनुपरेको देखाएको छ।
अध्ययनका सह-लेखक तथा CSIS का वरिष्ठ सल्लाहकार मार्क क्यान्सियनले अमेरिकी सैन्य अड्डामा भएको क्षति अझै कम आँकिएको हुन सक्ने बताएका छन्। उनका अनुसार अहिले देखिएको क्षति ठूलो भए पनि सम्पूर्ण जानकारी प्राप्त नभएसम्म वास्तविक नोक्सानीको सही आँकडा थाहा पाउन गाह्रो हुनेछ।
बीबीसीले यसबारे प्रतिक्रिया माग्दा अमेरिकी रक्षा मन्त्रालयले युद्ध सञ्चालन गरिरहेको यूएस सेन्ट्रल कमान्डतर्फ पठाएको थियो। तर त्यहाँका अधिकारीहरूले टिप्पणी गर्न अस्वीकार गरेका छन्।
इरानको प्रतिआक्रमणमा जर्डन, संयुक्त अरब इमिरेट्स तथा मध्यपूर्वका अन्य देशहरूमा रहेका अमेरिकी एयर डिफेन्स प्रणाली र स्याटेलाइट सञ्चार प्रणालीलाई समेत निशाना बनाइएको थियो।
सबैभन्दा ठूलो क्षति जर्डनस्थित एक हवाई अड्डामा रहेको THAAD मिसाइल रक्षा प्रणालीका लागि प्रयोग हुने अमेरिकी रडारमा भएको आक्रमणबाट भएको बताइएको छ।
CSISले अमेरिकी रक्षा मन्त्रालयका बजेटसम्बन्धी कागजातहरूको समीक्षा गर्दा AN/TPY-2 रडार प्रणालीको मूल्य करिब ४८५ मिलियन डलर रहेको पाइएको छ। यस्तो प्रणाली लामो दूरीबाट आउने ब्यालिस्टिक मिसाइल पत्ता लगाएर रोक्न प्रयोग गरिन्छ।
यसका अतिरिक्त इरानका आक्रमणबाट अमेरिकी तथा अमेरिकी सेनाले प्रयोग गरिरहेका सैन्य अड्डाहरूमा रहेका भवन, संरचना तथा अन्य सुविधामा करिब ३१० मिलियन डलर बराबरको थप क्षति भएको अनुमान गरिएको छ।

बीबीसी भेरिफाइले स्याटेलाइट तस्बिरहरूको विश्लेषण गर्दा इरानले कम्तीमा तीनवटा एयर बेसमाथि पटक–पटक आक्रमण गरेको देखिएको छ। यसले इरानले अमेरिकी सैन्य स्रोतहरूलाई विशेष रूपमा लक्षित गरेर हमला गरिरहेको संकेत गर्छ।
रिपोर्टअनुसार रूसले पनि क्षेत्रस्थित अमेरिकी सैन्य बलसम्बन्धी केही गोप्य सूचनाहरू तेहरानसँग साझा गरेको उल्लेख गरिएको छ।
स्याटेलाइट तस्बिरहरूमा कुवेतको अली अल–सलीम एयर बेस, कतारको अल–उदीद एयर बेस र साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा ताजा क्षति देखिएको छ।
फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग मिलेर इरानमाथि आक्रमण सुरु गरेयता अहिलेसम्म अमेरिकी सेनाका १३ जना सैनिकको मृत्यु भइसकेको छ।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (HRANA)का अनुसार युद्धमा ज्यान गुमाउनेको संख्या करिब ३२०० पुगेको छ, जसमा १४०० सर्वसाधारण नागरिक पनि रहेका छन्।
ट्रम्पले भने अमेरिका इरानको परमाणु कार्यक्रम अन्त्य गर्ने, उसको सैन्य क्षमता कमजोर बनाउने र क्षेत्रीय प्रोक्सी समूहलाई दिइने समर्थन रोक्ने आफ्नो लक्ष्यतर्फ अघि बढिरहेको बताएका छन्।
शुक्रबार व्हाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले भने, “हामी इरानमा निकै राम्रो गरिरहेका छौं।”
तर यो युद्धका कारण होर्मुज जलडमरू लगभग बन्द हुनु, युद्ध कति समयसम्म चल्ने भन्ने अनिश्चितता तथा अमेरिकाले स्थलसेना पठाउने कि नपठाउने भन्ने प्रश्नले विश्व अर्थतन्त्रमा समेत असर पारेको छ।
बीबीसीबाट


















प्रतिक्रिया