२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु



महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो ।

चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा यहाँको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरका किनारमा धुमधामका साथ मनाइने गरिएको छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर नगरपालिका-१ स्थित बाबा जलेश्वरनाथ महादेवको पुजारी कामेश्वर पाठकले बताए । पण्डित पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

चार दिनसम्म मनाइने यस चैती छठको पहिलो दिन (आज) व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गर्नेछन् । पर्वको दोस्रो दिन भोलि (सोमबार) खर्ना मनाइने छ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन ( नुन नहालेको) खानेकुरा खाने चलन छ ।

त्यस्तै, षष्ठीका दिन अर्थात् (मङ्गलबार) साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठेकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मूला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् । त्यस्तै त्यसको भोलिपल्ट अर्थात एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्नेछन् ।

महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातबासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा समेत विकसित छठपर्व हिन्दूको सँगसँगै मुस्लिमहरूले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ । तर चढाउने सामथ्र्य नभएकाहरूले गम्हरी धानको चामलमात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ५५ बजे

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै

फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा