८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन : सभापति लामिछाने



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे । उनले भने, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ, यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालयलाई बधाई र धन्यवाद दिन चाहन्छु ।”

सभापति लामिछानेले भने, “यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ । सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ । यसका लागि तपाईंप्रति हाम्रो उच्च सम्मान छ ।”

उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले गरेको योगदान मुलुकले सधैँ सम्झिने उल्लेख गर्दै आगामी दिनमा पनि प्रधानमन्त्री कार्कीको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा रहेको बताए ।

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश नहुने गरी काम गर्न सुझाव दिइन् । “ युवाहरूसँग देशवासीले ठूलो अपेक्षा गरेका छन् । चुनौती धेरै छन्, तर सम्हालिएर अघि बढ्दै देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ”, प्रधानमन्त्री कार्कीले भनिन्, “इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ । विरोध र आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिनेगरी अगाडि बढ्नु होला ।”

उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको र सभापति लामिछानेले सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“सरकार भनेको सरकार नै हो । अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ । यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन”, उनले भने, “अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ । त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौं ।”

पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै सभापति लामिछानेले यी विषयमा पनि उचित कदम चाल्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १० : ३४ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय