काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने सदस्यहरु अधिकांश नयाँ अनुहार रहेका छन् ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अधिकांश सांसद नयाँ अनुहार छन् भने सीमित दलका सदस्य मात्रै दुई वा दुईपटक बढी निर्वाचित हुनु हुने सांसद भएका छन् ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) र श्रम संस्कृति पार्टीका नेतृत्वबाहेक निर्वाचनमा सहभागी अन्य दलका शीर्ष नेतृत्वलाई सदनमा देखिने छैनन् ।
निर्वाचनमा १८२ सदस्य विजयी भएको रास्वपामा यस पटक १४ जना सांसदहरु दोहोरिएका छन् ।
पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्ले यसअघि पनि सदनमा थिए । यसैगरी, दोहोरिने सांसदहरुमा इन्दिरा राना मगर, डा अमरेशकुमार सिंह, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, हरि ढकाल, अशोककुमार चौधरी, विराजभक्त श्रेष्ठ, निशा डाँगी, मनिष झा र डा तोसिमा कार्की छन् । उनीहरु प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका हुन् ।
यस निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका ३८ जना सांसदमध्ये आठ सदस्य दोहोरिएका छन् । सांसदहरु अजुर्ननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का, जनक गिरी, चन्द्रमोहन यादव, टेकबहादुर गुरु, योगेश गौचन थकाली, चन्द्रमोहन यादव र अभिशेकप्रताप साह यसअघि पनि सांसद थिए ।
नेकपा (एमाले)का २५ जना निर्वाचित सांसदमध्ये रामबहादुर थापा बादल, पद्मा अर्याल, यज्ञबहादुर बोगटी, गणेशसिंह ठगुन्ना, लक्ष्मीप्रसाद पोखरेल र सुहाङ नेम्वाङ दोहोरिएका हुन् । मोहम्मद इस्तियाक राई ०७४ को चुनावमा जसपाबाट निर्वाचित भएका थिए भने ०७९ मा पराजित भएका थिए ।
नेपाली कम्युनिष्ट पार्टीको निर्वाचित १७ मध्ये पुष्पकमल दहाल ‘प्रचण्ड’, मातृकाप्रसाद यादव, वर्षमान पुन, धनबहादुर बुढा र महेन्द्रबहादुर शाही दोहोरिएका छन् ।
राप्रपाका तर्फबाट पाँच जना सांसदमध्ये ज्ञानेन्द्रबहादुर शाह दोहोरिएका छन् । उनी सो पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुन् ।


















प्रतिक्रिया