१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस



ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण रहेको बताएका छन्।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रतिवेदनले भदौ २३ गतेको घटनालाई मात्रै समेटेको तर २४ गतेका घटनाबारे पर्याप्त अध्ययन नगरेको टिप्पणी गरे। उनले सरोकारवाला तथा विज्ञहरू सम्मिलित समिति बनाएर कार्की आयोग र राष्ट्रिय मानवअधिकार आयोगका प्रतिवेदनबारे थप छलफल गरिने बताए।

चालिसेले सरकारलाई सुशासन र सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिनमा गम्भीर बन्न आग्रह पनि गरे। २०४६ सालदेखि २०८२ सालसम्म सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने उनको भनाइ थियो। “अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण हुनु हुँदैन। पात्र र प्रवृत्ति दुवै सही हुनुपर्छ,” उनले भने, “भ्रष्टाचार सामाजिक समस्या हो, यसको समाधान खोज्नुपर्छ, यो केवल भोट बटुल्ने माध्यम बन्नु हुँदैन।”

प्रवक्ता चालिसेले नेपाली कांग्रेस सुशासन, समृद्धि र जनताको प्रगतिका विषयमा प्रतिबद्ध रहेको पनि बताए। कांग्रेस सत्तामा मात्रै होइन, प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ थियो। जनताले अभिव्यक्त गरेको मतलाई सम्मान गर्दै सोहीअनुसार पार्टीले आफ्नो भूमिका निर्वाह गर्ने उनले स्पष्ट पारे।

“कांग्रेस निर्वाचनका लागि मात्रै सक्रिय हुने पार्टी होइन। निर्वाचन नै नहुने अवस्थामा पनि कांग्रेस क्रियाशील थियो, निर्वाचन हुने वातावरण पनि कांग्रेसले नै तयार गरेको हो,” उनले भने, “सही विषयमा कांग्रेस सरकारको साथमा हुन्छ र लोकतान्त्रिक मूल्यमान्यता तथा जनताको अधिकार रक्षामा प्राथमिकता दिन्छ।”

देशको अर्थतन्त्र कठिन अवस्थामा रहेको उल्लेख गर्दै उनले रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख स्रोत भएको बताए। यस्तो परिस्थितिमा कांग्रेसले सहयोगी प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए।

पत्रकार सम्मेलनमा चालिसेले हालै सम्पन्न निर्वाचन परिणाम अप्रत्याशित भएको उल्लेख गर्दै पार्टीले सबै १६५ निर्वाचन क्षेत्रको समीक्षा गर्ने जानकारी दिए। उनले संरचनागतदेखि नीतिगत सुधारसम्मका विषयमा व्यापक समीक्षा गरी पार्टीलाई रूपान्तरण गर्ने दिशामा अघि बढ्ने बताए।

उनले पार्टीभित्र अनुशासन सुदृढ गर्न तथा कार्यकर्तालाई सक्रिय बनाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। क्रियाशील सदस्यताबाटै सुधार प्रक्रिया सुरु हुने बताउँदै प्रत्येक वडामा सदस्यताको तथ्याङ्क व्यवस्थित रूपमा राखिने उनले बताए।

“पार्टीका केही साथीहरू पार्टी नबदल्ने तर मत बदल्ने प्रवृत्तिमा पनि देखिएका छन्। यसलाई सुधार्न भरोसाको वातावरण बनाउनुपर्छ,” उनले भने, “समयको परिवर्तनसँगै नेताहरूको शैली, व्यवहार र भाषा पनि परिवर्तन हुन आवश्यक छ, त्यसका लागि नेतृत्व विकास तालिम आवश्यक हुन्छ।”

चालिसेले संसद्भित्र सांसदहरूले अपेक्षाअनुसार भूमिका निर्वाह नगरे पार्टीले आवश्यक परे फिर्ता बोलाउने व्यवस्था विधानमै रहेको पनि बताए।

त्यस्तै, पार्टीका भातृ संस्थालाई चुस्तदुरुस्त बनाउन दुई महामन्त्रीको समन्वयमा समिति गठन गरिएको जानकारी उनले दिए। पार्टीको विधान, नीति तथा निर्देशिका परिमार्जनका लागि सहमहामन्त्री योगेन्द्र चौधरीको नेतृत्वमा अर्को समिति बनाइएको पनि उनले बताए।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ७ : ५० बजे

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास