५ श्रावण २०८३, मंगलबार | July 21, 2026

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै



बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल भेटेरिनरी एशोसियसन (एनभीए) को आयोजनामा १६ औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) हुने भएको छ । सम्मेलन चैत २७ र २८ गते रुपन्देही जिल्लाको मणिग्रामस्थित होटल डिमल्याण्ड रिसोर्टमा आयोजना गरिनेछ ।

“एक स्वास्थ्य मार्गहरू दिगो पशुपालन र खाद्य सुरक्षाका लागि” भन्ने मूल नारासहित आयोजना गरिने यस सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक तथा व्यवहारिक दृष्टिकोणबाट उजागर गर्ने लक्ष्य लिएको छ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमको व्यवस्थापन एनभीए लुम्बिनी प्रदेशले गर्नेछ ।

सम्मेलनको पूर्वसन्ध्यामा देशभरका भेटेरिनरी चिकित्सकहरूबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता पनि आयोजना गरिनेछ । उक्त प्रतियोगिता मणिग्रामस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने जनाइएको छ ।
सम्मेलनमा पशु सेवा विभागका तर्फबाट पशुपन्छी क्षेत्रको वर्तमान अवस्था तथा आगामी कार्यदिशासम्बन्धी नीतिगत प्रस्तुति रहनेछ । साथै विभिन्न विषयगत सत्रहरूमा अनुसन्धानपत्रहरू प्रस्तुत गरिनेछन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूले “एक स्वास्थ्य”, महामारी नियन्त्रण, खाद्य सुरक्षा, जलवायु परिवर्तन तथा नवीन प्रविधिसम्बन्धी विषयमा विशेष प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ ।

सम्मेलनका प्रमुख आकर्षणहरूमा प्राविधिक सत्र, अनुसन्धान प्रस्तुति, प्यानल छलफल तथा अनुभव आदानप्रदान कार्यक्रमहरू समावेश छन् । १४० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुने, ७ भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहने तथा १५ भन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यसैगरी, विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न “विद्यार्थी पोस्टर प्रतियोगिता” आयोजना गरिनेछ भने पशु स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान पुर्‍याएका अनुभवी पशु चिकित्सकहरूलाई विशेष सम्मान गरिनेछ । सम्मेलन परिसरमा पशु स्वास्थ्य, औषधि, खोप, आहार तथा आधुनिक प्रविधिसम्बन्धी प्रदर्शनी पनि राखिनेछ ।

कार्यक्रमलाई नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका साथै खाद्य तथा कृषि संगठन, संयुक्त राज्य सोयाबिन निर्यात परिषद्, नेपाल भेटेरिनरी काउन्सिल, हेफर अन्तर्राष्ट्रिय, त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, कृषि तथा वन विज्ञान विश्वविद्यालय लगायत विभिन्न संस्थाहरूको आर्थिक तथा प्राविधिक सहयोग रहनेछ ।

हालसम्म २०० जना सहभागीहरूले “अर्ली बर्ड दर्ता” गरिसकेका छन् भने करिब ८०० जना पशु चिकित्सकहरूको सहभागिता रहने अनुमान गरिएको छ ।

यसै सन्दर्भमा डा. केदार सुवेदी ले सम्मेलनले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान तथा नवीन प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनका अनुसार “एक स्वास्थ्य” अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ ।

उनले आगामी दिनमा पशुपन्छी क्षेत्रको दिगो विकास, नीतिगत सुदृढीकरण तथा व्यावसायिक प्रवर्द्धनका लागि यस्ता सम्मेलनहरू आवश्यक रहेको समेत उल्लेख गरे ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : १७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं