२५ चैत्र २०८२, बुधबार | April 8, 2026

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान



नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । कावासोती-१, हात्तीखोरमा अवस्थित महाराजा थान मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ ।

तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले मन्दिर स्थापना गरेको स्थानीय अग्रज बताउँछन् । राजा मणिमुकुन्द सेनले आफ्ना राज्यको सीमा सुरक्षार्थ शक्तिपीठका रूपमा यस मन्दिर स्थापना गरी पूजा गरेको किंवदन्ती रहेको महाराजा मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष चेतबहादुर थापाले बताए ।

कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ अवस्थित यस मन्दिरमा दिनहुँजसो नवलपुरसहित देशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू पुग्ने गर्दछन् ।

महाराजा थान मन्दिर आज धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । यहाँ पूजा गरी भाकल गरे मनोकामना पूरा हुने जनविश्वासका कारण श्रद्धालुहरू मन्दिरमा आउने गरेका समितिका अध्यक्ष थापाले बताए । ‘यहाँका समुदायले अनुकूल वा प्रतिकूल जुनसुकै अवस्था आउँदा पनि यहाँ पूजा गर्ने गर्छन्’, अध्यक्ष थापाले बताए ।

तत्कालीन समयमा तराईमा औलोलगायत महामारी तथा रोग फैलिँदा त्यसबाट मानिसलाई जोगाउन मन्दिरप्रति आस्था राख्ने श्रद्धालु भक्तजनहरू आई कुखुरा, हाँस, परेवा, भेडा, पाठो, राँगोजस्ता बलि चढाई चार-पाँच दिनसम्म बास बसी धार्मिककार्य गर्ने गर्दथे भन्ने यहाँका अग्रजहरूबाट सुनिएको मन्दिरका अध्यक्ष थापाले बताए ।

यहाँका आदिवासी थारू समुदायले यसलाई सदियौँदेखि विशेष रूपमा पूजा गर्दै आएको उनको भनाइ छ । उक्त समुदायले महाराजा देवतासँग वर मागी निःसन्तान हुनेहरूको सन्तान प्राप्ति भएको र सो सन्तानको न्वारन पनि यसै मन्दिरमा आइपर्ने गरेको अध्यक्ष थापाले बताए । कतिपयले आफ्ना बालबच्चाको नामसमेत थारू भाषामा महाराजा-महाराजी राखेको पाइएको उनले बताए ।

मन्दिर नजिकै रहेको हरियाली वातावरण, चिसो हावा र वरिपरि देखिने मनोरम दृश्यका कारण यहाँ घुमफिर गर्न तथा पूजा गर्न आउनेको सङ्ख्या बढ्दो रहेको अध्यक्ष थापाले बताए । यहाँ पञ्चबलिसहित परेवा उडाउन आउनेको सङ्ख्यासमेत उल्लेख्य रहेको अध्यक्ष थापाले बताए । मन्दिर व्यवस्थापन समितिले यसका लागि विभिन्न शुल्क निर्धारण गरेको छ ।

महाराजा थानमा विशेषगरी बडादसैँ र रामनवमी अर्थात् चैतेदसैँका अवसरमा मेलापर्वकै रूपमा धार्मिककार्य गर्नेहरूको घुइँचो लाग्ने गर्दछ । महाराजा थान मन्दिरको विकासका लागि २०६९ सालमा महाराजा मन्दिर धार्मिक सेवा समिति निर्माण गरी यसको थप संरक्षणमा लागिएको अध्यक्ष थापाले बताए । मन्दिरको थप भौतिक संरचना निर्माण र मन्दिर परिसरको स्तरोन्नति तथा विकासका लागि डिपिआरसमेत तयार गरिसकिएको अध्यक्ष थापाले बताए । राज्यस्तरबाट ऐतिहासिकस्थलका रूपमा रहेको महाराजा थानको विकासका लागि पहल आवश्यक रहेको उनको भनाइ छ ।

कावासोती नगरपालिका–१ का कार्यवाहक वडाध्यक्ष ओमबहादुर थापाका अनुसार मन्दिरको भौतिक संरचना निर्माण र व्यवस्थापनका लागि वडास्तरबाट रकम विनियोजन गरिएको छ । महाराजा थान जिल्लाकै प्रमुख धार्मिकस्थलका रूपमा रहेकाले यसको थप विकासका लागि प्रदेश र सङ्घस्तरबाट पनि सहयोग आवश्यक रहेको छ । महाराजा थानको थप व्यवस्थापन र प्रचारप्रसार हुन सकेमा नवलपुरमात्र नभई देशकै महत्त्वपूर्ण धार्मिक पर्यटन गन्तव्य बन्ने सम्भावना रहेको कार्यवाहक वडाध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ११ : ०६ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री