काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन् । मन्त्री नियुक्त भएको १३ दिनमै उनलाई हटाउने तयारी गरिएको हो ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार विवादित पृष्ठभूमि भएका साहलाई पर्याप्त जानकारीबिना मन्त्री बनाइएको भन्दै हटाउने प्रक्रिया अघि बढाइएको छ । यद्यपि, प्रधानमन्त्रीको सूचना तथा जनसम्पर्क टिमलाई यसबारे औपचारिक जानकारी दिइएको छैन ।
स्रोतका अनुसार साह विगतमा एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम असुल गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका व्यक्ति भएको उल्लेख गरिएको छ । मन्त्री बनेपछि पनि उनले स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित एक निर्णयमा प्रभाव पारेको आरोप लागेको छ ।
स्वास्थ्य बीमा बोर्डअन्तर्गत निष्क्रिय रहेको सदस्यता पुनः सक्रिय गराउने विषयमा स्वास्थ्य सचिवमार्फत प्रभाव पारिएको रिपोर्ट प्राप्त भएपछि विवाद थप चर्किएको बताइएको छ । उक्त सदस्यता मन्त्री साहकी पत्नी जुनु श्रेष्ठसँग सम्बन्धित रहेको जनाइएको छ ।
स्वास्थ्य सचिव विकास देवकोटाको सिफारिसपछि स्वास्थ्य मन्त्री निशा मेहताले उक्त प्रक्रिया अघि बढाएकी थिइन् । तर विषय सार्वजनिक भएसँगै मन्त्री मेहताले निर्णय सच्याएको स्रोतले जनाएको छ ।
यस विषयमा प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई कर्मचारी वा अन्य पक्षबाट प्रभावित नहुन निर्देशन दिँदै यस्ता गल्ती दोहोरिन नदिन चेतावनी दिएका छन् ।


















प्रतिक्रिया