९ बैशाख २०८३, बुधबार | April 22, 2026

वडा कार्यालय पुग्न २४ किलोमिटर दूरी पार गर्नुपर्ने



बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी क्षेत्रका वस्तीबाट वडा कार्यालय पुग्न करिब २४ किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको छ ।

भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित बासखली, चुनभट्टी, खैरभट्टी, कुन्टेपानी, महेशपुर, गुर्दनगौडी, जुरुवा र तल्लो बासखली लगायतका क्षेत्रबाट वडा कार्यालय राप्तीसोनारी-४ बैजापुर पुग्न कम्तीमा चार घण्टा लाग्ने बैजापुरका स्थानीय अगुवा तुलसीराम थारुले बताए ।

“सडक नहुँदा वडा कार्यालयमा सेवा लिन चार घण्टा हिँडेर पुग्नुपर्ने बाध्यता रहेको छ”, थारुले भने, “यहाँका जनताले स्थानीय सरकारको अनुभूतिसम्म गर्न नपाएकाले अब सहज सेवा सुविधाको लागि छुट्टै वडा कायम गर्नुपर्दछ ।”

उनका अनुसार, राप्तीसोनारी गाउँपालिकाको दुर्गम क्षेत्रका रूपमा चिनिने गुर्दनगौडी र खयरभट्टी क्षेत्रका जनताको अवस्था निकै कष्टकर छ । यस क्षेत्रका जनताले अझै पनि आधारभूत सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ । वडा कार्यालयबाट खयरभट्टीसम्म करिब १४ किलोमिटर दूरी भए पनि भारतीय सीमा क्षेत्रमा रहेको महेशपुर थप १० किलोमिटर टाढा रहेको छ ।

वडा कार्यालयको केन्द्र बैजापुरबाट टाढा र दुर्गममा पर्ने भएकाले खयरभट्टी क्षेत्रमा सेवा प्रवाहमा कठिनाइ हुने गरेको वडाध्यक्ष मीनराज खड्काले जानकारी दिए । खयरभट्टी क्षेत्रका नागरिक न्यूनतम आधारभूत सेवाबाट वञ्चित रहँदै आएका छन् । तीन सय ५० घरधुरी र करिब ४०० मतदाता रहेको यो क्षेत्रलाई छुट्टै वडा र मतदान केन्द्र कायम गर्नुपर्ने माग अनौपचारिक रुपमा उठ्दै आए पनि औपचारिक रुपमा प्रवेश हुन नपाएको उनले बताए ।

गाउँसम्म पुग्ने सडक नहुँदा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य, शिक्षा र खानेपानीको समस्या रहेको छ । गाउँपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष खड्काले नागरिकलाई पायक पर्ने स्थानमा वडा कार्यालय र मतदान केन्द्र कायम गरिनुपर्ने माग औपचारिक रुपमा माग आए कार्यपालिकामा पेस गरेर प्रक्रिया अगाडि बढाइने बताए ।

यो क्षेत्रमा स्वास्थ्य चौकी वा सहज स्वास्थ्य सेवाको पहुँच नहुँदा सामान्य बिरामी पर्दा निकै टाढासम्म जानुपर्ने र प्रसूति सेवाको अभावमा जोखिमपूर्ण अवस्थामा बस्नुपर्ने बाध्यता छ । शिक्षाको अवस्था नाजुक छ । बालबालिकाहरू लामो दुरी पैदल हिँडेर विद्यालय जान बाध्य छन्, जसले गर्दा विद्यालय छोड्ने दर उच्च छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दीलबहादुर तामाङले मतदान केन्द्र स्थापना गर्ने कार्य समस्या नरहेको बताए । वडा विभाजनको कुरा औपचारिक रुपमा कार्यपालिकाबाट निर्णय भएर आए आफूले आवश्यक समन्वयका साथ अगाडि बढाउने उल्लेख गरे ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ७ : ३८ बजे

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय