१२ बैशाख २०८३, शनिबार | April 25, 2026

नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु भएको छ । शुक्रबार साँझबाट सुरुभएर तीन दिनसम्म चल्ने फेस्टिबलको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले नेपालगन्जलाई पर्यटनको हब बनाउन सकिने थुप्रै सम्भावना रहेको बताए । उनले नेपालगन्ज जनकपुर तथा नेपालगन्ज अयोध्याको कनेक्टिभिटीका लागि आफू प्रयासरत रहेको बताए । उनले मानसरोबार गेट(वेका रुपमा समेत रहेको नेपालगन्जमा बन्दै गरेको १०८ फिट अग्लो हनुमानको मूर्तिले जनकपुर र अयोध्यासंग भावनारुपमा जोड्ने विश्वास ब्यक्त गरे ।

उद्घाटन कार्यक्रममा होटल संघ नेपाल हानका केन्द्रीय अध्यक्ष विनायक शाहले फेष्टिबलका कारण विभिन्न साना, ठूला व्यवसायीलाई केही न केही मद्दत पुर्याएको महसुस गरेको धारणा राखे । उनले पर्यटन भनेको आर्थिक समृद्धिको प्रमुख क्षेत्र हो भन्दै नेपालगन्ज पर्यटनको गेटवे भएको उल्लेख गरे । ‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय गन्तव्यको मूल गेट नेपालगन्ज बन्न सक्छ’, अध्यक्ष शाहले भने, ‘त्यसका लागि नेपालगन्जले प्रशंसनीय सेवा गरेको छ ।’

होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष शंकर भण्डारीले नेपालगन्ज पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको सहरका रुपमा औंल्याए । ‘पर्यटनको सुरुवात स्वादबाट हुन्छ, त्यसको सुरुवात यो कार्यक्रमबाट भएको छ’, उनले भने, ‘पर्यटन यस्तो व्यवसाय हो जसबाट सबै मानिस लाभान्वित हुनसक्छन्, नेपालगन्ज स्वाद, आतिथ्य संस्कार पर्यटनको महत्वपूर्ण आकर्षक गन्तव्यको आधार बन्न सक्छ ।’

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायते शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल र होटल संघ नेपाल बाँकेका अध्यक्ष दिवाकर खनालको संयुक्त अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा होटल संघ नेपाल बाँकेका उपाध्यक्ष केशन न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

नेपालगञ्जस्थित वाटरपार्क परिसरमा होटल व्यवसायी संघ बाँके र होटल संघ नेपाल बाँकेले संयुक्त रुपमा आयोजना गरेको ‘नेपालगञ्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ मा रैथाने खानाका परिकारदेखि बाँकेमा रहेको पाँच तारे होटलसम्मका परिकारहरु एकै थलोमा खाने व्यवस्था गरिएको छ । विभिन्न ब्रान्डका पेय पदार्थहरू प्रिन्ट रेटमै उपलब्ध हुने आयोजकले जनाएका छन् । फेस्टिबल बैशाख १३ गतेसम्म चल्नेछ ।

पर्यटन प्रवर्द्धन, स्थानीय परिकारको पहिचान र होटल व्यवसायको विकास गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको हो । नेपालगन्ज लगायत पश्चिम नेपालका स्वदेशी पर्यटकका साथै छिमेकी मुलुक भारतका पर्यटकलाई भित्र्याई नेपालगन्ज क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य पनि फेस्टिबलको छ । फेस्टिभलमा करिब ४० वटा स्थानीयदेखि तारे होटलहरुका स्टल रहेका छन् ।

मनोरञ्जनको लागि लोकप्रिय “दि फिरन्ते ब्यान्ड” को विशेष प्रस्तुति, राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति हुनेछ । स्थानीय कलाकारहरूको प्रस्तुति, लाइभ म्युजिक, नृत्य तथा चर्चित कलाकार गायक रामकृष्ण ढकाल, नायक विजय बराल, नायिका बर्षा रावत, हाँस्य कलाकार मेक्सम गौडेल लगायतको सहभागिताले फेस्टिभललाई आकर्षक बनाउने आयोजकको विश्वास छ । फेस्टिबलमार्फत नेपालगञ्जलाई ‘फुड डेस्टिनेशन’का रूपमा चिनाउने, स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १ : ०७ बजे

गैरीगाउँको सुकुमवासी बस्तीमा चल्न थाल्यो डोजर

काठमाडौं । थापाथली आसपासका सुकुमवासी बस्ती खाली गराएलगत्तै गृहप्रशासनले काठमाडौंको

नेपालले युएईलाई दियो २०१ रनको मध्यम स्तरको चुनौती

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट

थापाथली हटाइएका सुकुम्बासीमध्ये २२ परिवार मात्रै सरकारको सम्पर्कमा

काठमाडौं । राजधानीका नदी किनारका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत विस्थापित

कूटनीतिक आचरसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै

नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज