११ भदौ २०८३, बिहिबार | August 27, 2026

सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती



ढोरपाटन । यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सशस्त्र द्वन्द्वका बेला जनश्रमदान गरी खुलेको सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँ रिजालचोकदेखि ताराखोला गाउँपालिकाको केन्द्र भातखानेडाँडासम्म जोडिएको यो सडकको साँघुरो र अप्ठ्यारो छ । दैनिक स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । यो सडक विसं २०५७ देखि २०६० सम्म जनश्रमदानबाट निर्माण गरिएको थियो ।

गाउँमा कोही बिरामी परे तत्काल अस्पताल ल्याउँदा बढी समस्या हुने गरेको ताराखोला गाउँपालिका-२ का तमबहादुर रोकामगरले बताए । वर्षौँ अगाडि दुःख गरेर कोदोला, गैँती र बेल्चाले खनेको सडक अहिले ठूलाठूला मेसिन चल्दा पनि स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उनको गुनासो छ ।

रोकामगरले भने, “सडकको दुरावस्थाका कारण गाउँका मान्छेहरूले धेरै दुःख पाएका छन्, नेताहरू राज्य सरकारमा धेरै पटक पुगे, लौ नै यति सडक त राम्रो गराउनुपर्यो भनेर धेरैपटक माग गर्यौँ तर अहिलेसम्म जस्ताको त्यस्तै छ, कहिले बन्ला र सहज रूपमा बजार झर्न पाइएला ?”

रिजालचोकदेखि करिब ४० किलोमिटर रहेको सडक व्यवस्थित नबन्दा महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय टीकाबहादुर विकले गुनासो पोखे । दूरीका हिसाबले जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै भए पनि अप्ठ्यारो सडकका कारण एक हजारभन्दा बढी भाडा तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । सहिदका नाममा बनेको सडक यतिका वर्षसम्म व्यवस्थित नबन्दा उनीहरूप्रतिको अपमान भएको विकले बताए ।

“गाउँबाट बागलुङ बजार पुग्न तीन घण्टा बढी लाग्छ, सडक राम्रो भए त एकै घण्टामा पुग्न सकिने दूरी हो, यहाँको समस्या धेरैपटक सुनायौँ तर कतैबाट पनि सुनुवाइ हुन सकेन”, विकले भने, “यति सडक व्यवस्थित भए त हाम्रो जीवनस्तर पनि बदलिने थियो, गाउँमा उत्पादन भएका वस्तु सहज रूपमा बजार पुर्याउन सकिने थियो, बजारबाट पनि सस्तो भाडामा सामान ल्याउन सकिने थियो ।”

सहिदमार्गको काठेखोला गाउँपालिका-४ देखि ताराखोला गाउँपालिका-१, २ र ४ सम्मको खण्ड बढी अप्ठ्यारो छ । यो क्षेत्रमा खाल्डाखुल्डी धेरै छन् भने सडक निकै साँघुरो छ । आर्थिक वर्ष २०८०/८१ मा दुई करोड रुपैयाँ र गत वर्ष एक करोड ५१ लाख रुपैयाँ खर्चेर केही खण्डमा काम भए पनि अरु काम हुनसकेको छैन ।

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले यो सडक स्तरोन्नतिका लागि ठूलो बजेट लाग्ने तर गाउँपालिकामा सीमित बजेट हुने हुँदा काम गर्न नसकेको बताए । सडक स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारसँग पटकपटक बजेट माग गरे पनि अहिलेसम्म प्राप्त गर्न नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ७ : ४७ बजे

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट