रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहिबार दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए । एक जना यात्रु सकुशल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ का गोर्ख बुढाथोकी , तिलकुमारी बुढाथोकी, युवा बिसी, दिव्यन बिसी, सृजना बुढाथोकी, सुदीप बुढाथोकी, ओमकुमारी बुढाथोकी रहेका छन् ।
त्यसैगरि दाङ घोराही उपमहानगरपालिका–१५ का दोरपती जिसी, तिला जिसी, जेनिस जिसी, जेनिसा जिसी, एलिना जिसी, संयोग जिसी, यमबहादुर जिसी, घोराही–१३ की धनमाया बिष्ट, दाङ शान्तिनगर गाउँपालिकाका बेदु कामी, सिस्ने–५ की मीना कमिनी, लक्ष्मी शाह, भुमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत तथा सिस्ने–५ की रुक्मिना बस्नेतको पनि दुर्घटनाबाट ज्यान गएको छ ।
दुर्घटनास्थल अत्यन्तै अप्ठ्यारो भौगोलिक क्षेत्रमा रहेकाले उद्धार तथा शव संकलनमा केही ढिलाइ भएको प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहभागितामा उद्धार गरिएको थियो।
सामान्य घाइते हुनेमा सिस्ने–५, रुकुम पूर्वका ३२ वर्षिय समिर कामी रहेका छन् । प्रहरीका अनुसार जिपमा सवार उनी दुर्घटना हुनुअघि जिपको छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । यस हृदयविदारक घटनाले रुकुम, रोल्पा र दाङ क्षेत्रमा शोकमा डुवेको छ ।
मृतकको शव सडकसम्म ल्याउन निकै कठिनाइ भएको सुरक्षा अधिकारीले जनाएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कच्ची तथा चिप्लो सडक, लगातारको वर्षा र क्षमताभन्दा बढी यात्रु बोकेका कारण जीप अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ । मृतक सबै वैशाख पूर्णिमाको अवसरमा आज शुक्रबार जलजलामा लाग्ने बराह पूजामा सहभागी हुन जान लागका तीर्थयात्री हुन् ।
दुर्घटना छानबिनका लागि समिति गठन
रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा बिहीबार दिउँसो भएको जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका अनुसार सचिवस्तरीय निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सदस्य रहनुभएको छ । गृह मन्त्रालयले दुर्घटनाको कारण, सम्भावित लापरबाही वा कमजोरी पहिचान गर्न तथा भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका उपाय सुझाउन स्पष्ट कार्यादेश दिएको छ । उक्त समितिले आफ्नो कार्य थालिसकेको जनाएको छ ।


















प्रतिक्रिया