काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता तथा भावी मुख्यमन्त्रीका रूपमा चर्चामा रहेका शुभेन्दु अधिकारीका निजी सहायक चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको छ ।
बुधबार राति कोलकातानजिकैको मध्यमग्राम क्षेत्रमा भएको आक्रमणमा गम्भीर घाइते भएका रथलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनापछि सामाजिक सञ्जालमा उनलाई अस्पताल लगिँदै गरेको भिडियोसमेत सार्वजनिक भएको छ ।
पश्चिम बंगालका प्रहरी महानिरीक्षक (डीजीपी) सिद्धनाथ गुप्ताका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनामा प्रयोग भएको सवारीसाधन नियन्त्रणमा लिए पनि त्यसमा प्रयोग गरिएको नम्बर प्लेट नक्कली रहेको पाइएको जनाएको छ ।
प्रहरीले घटनास्थलबाट जीवित कारतूससमेत बरामद गरेको छ । प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाइएको अधिकारीहरूले बताएका छन् ।
बीजेपी नेता शुभेन्दु अधिकारीले घटनालाई ‘योजनाबद्ध हत्या’को संज्ञा दिएका छन् । उनले विगत १५ वर्षदेखि पश्चिम बंगालमा तृणमूल कांग्रेस (टीएमसी)को शासनकालमा ‘महाजंगलराज’ कायम भएको आरोप लगाउँदै घटनाअघि केही दिनदेखि ‘रेकी’ गरिएको दाबी गरेका छन् ।
केन्द्रीय मन्त्री सुकान्त मजुमदारले मृतकका परिवार तथा प्रहरी अधिकारीसँग घटनाबारे छलफल गरेका छन् ।
उता, तृणमूल कांग्रेस (टीएमसी)ले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । टीएमसीले निर्वाचनपछिको हिंसामा आफ्ना तीन कार्यकर्ता पनि मारिएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिनका लागि अदालतको निगरानीमा सीबीआई अनुसन्धान हुनुपर्ने माग गरेको छ ।
पश्चिम बंगालमा निर्वाचन परिणाम सार्वजनिक भएपछि विभिन्न स्थानमा हिंसा, आक्रमण र तोडफोडका घटनाहरू बढ्दै गएका छन्, जसले राज्यको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।




















प्रतिक्रिया