५ श्रावण २०८३, मंगलबार | July 22, 2026

लम्की-टीकापुर-खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती



कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा नागरिकले निकै सास्ती खेप्नुपरेको छ । यहाँ विसं २०७७ मा तीन ‘प्याकेज’ मा निर्माण सुरु भएको थियो । २९ किलोमिटर सडकमध्ये हालसम्म दुई प्याकेजका काम सम्पन्न भएका छन्, तर टीकापुरको अस्नेहरी हुँदै खक्रौलासम्मको ११ किलोमिटर सडक पाँच वर्षसम्म सम्पन्न हुन नसक्दा समस्या भएको हो ।

स्थानीय निरा काफ्लेले निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न नहुँदा धुलो र सडकमा रहेका गिट्टीले निकै समस्या भइरहेको गुनासो गरिन । “धुलोका कारण कार्यालय पुग्दासम्म लुगा र अनुहार कुरुप बन्ने गरेको छ । सडकमा गिटी हालेर छोडेको पनि महिनौँ भयो, जसले गर्दा गाडी चलाउन निकै गाह्रो हुन्छ । यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्छ”, उनले भनिन ।

समयमा काम सम्पन्न नहुँदा सडक आसपासमा बसोबास गरिरहेका नागरिकलाई झनै सास्ती छ । गर्मीयाममा धुलो तथा वर्षायाममा हिलोले स्वास्थ्यमा असर र दुर्घटनाको जोखिम रहेको स्थानीय सुन्दरलाल चौधरीले बताइन । “गाडी गुड्दा उड्ने धुलो घरभित्रसम्म पुग्छ । त्यहीँ धुलो खानेकुरामा मिसिन्छ”, उनले भनिन, “पटकपटक ताकेता गर्दा सरोकार भएका पक्षले ध्यान दिँदैनन् । वर्षौंदेखि मारमा परेका छौँ ।”

विसं २०७७ असार १४ गते सम्झौता भएर २०७९ पुस १३ गते सम्पन्न गर्नुपर्ने आयोजनाको म्याद तीनपटक थप भइसकेको छ । अन्तिमपटक थपिएको म्याद पनि गत फागुन २५ गते सकिएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यान्वयन कार्यालय धनगढीका इन्जिनियर प्रमोद चौधरीले जानकारी दिए ।

रु ३३ करोड २० लाख ६६ हजार ६३० को लागतमा निर्माण सुरु भएको योजनाको काम रायमाझी लाग्वा जगदम्बा जेभीले गर्दै आएको छ । केही वर्ष अर्को ठेकेदारमार्फत आयोजनाको काम गरे पनि समयमा सम्पन्न नभएपछि जेभी आफैँले काम गर्ने कम्पनीका निर्देशक भरत रायमाझीले जानकारी दिए । “अरुको भर पर्दा काममा ढिलाइ भएको हो । अब आफैँ खटिन्छौँ”, उनले भने ।

यस्तै, टीकापुर नगरपालिका–७ सत्ती हुँदै भजनी नगरपालिका—३ ठेकिपुरसम्मको साढे १० किलोमिटर सडकको अवस्था झनै खराब छ । हुलाकी राजमार्गमा पर्ने यो सडकको निर्माण ठेक्का सम्झौता पनि २०७७ सालमै भएको हो । चार ‘प्याकेज’मा ठेक्का भएको आयोजनाको तेस्रो ‘प्याकेज’सम्मको काम सम्पन्न भइसकेको छ । समग्रमा सडकको प्रगति ५० प्रतिशत रहेको जनाइएको छ ।

यस खण्डमा कालिका जोशी जेभीले रु ३२ करोड ६२ लाख ३९ हजार ६३८ मा ठेक्का लिएको थियो । भजनी नगरपालिका—८ का कालुराम पाण्डेले यहाँ पनि ठेकेदारको लापरबाहीले काम समयमै सम्पन्न हुन नसकेको बताए ।

कालिका जोशी जेभीका निर्देशक गणेश जोशीले विगतमा भुक्तानीमा समस्या हुँदा समयमा काम सम्पन्न गर्न नसकिएको जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ३ : ०४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं