काठमाडौं । अभावले मानिसलाई धेरै कुरा सिकाउँछ । त्यो अभाव पैसाको होस्, सम्मानको होस् वा अवसरको यदि त्यसलाई सकारात्मक ऊर्जा र संघर्षमा बदल्न सकियो भने सफलता अवश्य प्राप्त हुन्छ । प्रदीपको जीवनयात्रा त्यही संघर्ष र सफलताको उदाहरण बनेको छ ।
गाउँको सरकारी विद्यालयबाट सुरु भएको उनको शैक्षिक यात्रा आज अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयसम्म पुगेको छ । डायरीको एउटा सानो पानामा कोरिएको सपना आज ऐतिहासिक सफलताको दस्तावेज बनेको छ ।
प्रदीपको अध्ययन यात्रा कुनै सुविधासम्पन्न विद्यालयबाट सुरु भएको थिएन । परिवारको आर्थिक अवस्था कमजोर भएकाले बोर्डिङ स्कुलको महँगो शुल्क तिर्न सम्भव थिएन । त्यसैले उनी गाउँकै सरकारी विद्यालय र्घोर्ले माध्यमिक विद्यालयमा भर्ना भए । त्यहाँ उनले एउटा कुरा सुने “प्रथम हुने विद्यार्थीले शुल्क तिर्नु पर्दैन ।”
त्यही वाक्य उनको जीवनको प्रेरणा बन्यो । आमाबुवाको आर्थिक बोझ कम गर्ने अठोटका साथ उनले पढाइमा यस्तो मेहनत गरे कि विद्यालय जीवनभर कहिल्यै दोस्रो भएनन् । प्रत्येक शुक्रबार हुने साप्ताहिक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेर पाउने कापी र कलम उनका लागि सामान्य पुरस्कार थिएनन्, ती संघर्षलाई निरन्तरता दिने प्रेरणा थिए ।
तर जीवन सधैं एकनास कहाँ चल्छ र ? सबैले प्रदीपले एसएलसीमा उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गरेका थिए । तर नतिजा सोचेजस्तो आएन । त्यो समय एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको विशेष प्रतिष्ठा हुन्थ्यो । अपेक्षाअनुसार नतिजा नआउँदा परिवार, शिक्षक र आफन्त सबै निराश बने ।
धेरैका लागि त्यो असफलता हार मान्ने कारण बन्न सक्थ्यो । तर प्रदीपका लागि त्यो नयाँ सुरुवात बन्यो । उनले हार मानेनन्, बरु असफलतालाई नै प्रेरणामा बदल्दै विज्ञान विषय अध्ययन सुरु गरे ।
कठिनाइका बीच उनले आफ्नो लक्ष्य छाडेनन् । निरन्तर मेहनतले परिणाम दिन थाल्यो । उनले विज्ञान विषयमा स्नातक तहमा विशिष्ट श्रेणी हासिल गरे भने भौतिकशास्त्र विषयमा स्नातकोत्तर तहमा ४ दशमलव ०० जिपिए ल्याएर आफूलाई उत्कृष्ट विद्यार्थीका रूपमा स्थापित गरे ।
हाल उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गतको प्रतिष्ठित एएमआरएल ल्याबमा सह-प्राध्यापक तथा आइओएसटीका सहायक डिन डा. माधवप्रसाद घिमिरेको निर्देशनमा सैद्धान्तिक भौतिकशास्त्र क्षेत्रमा अनुसन्धान गरिरहेका छन् ।
उनको सफलता केवल पढाइको उपलब्धि मात्र होइन, अभाव र संघर्षमाथिको विजय पनि हो । २०८१ सालको दसैँदेखि घर जान नपाएका प्रदीप २०८२ को दसैँमा परिवारसँग रमाउने अवसर छाडेर अमेरिकाका विश्वविद्यालय र प्राध्यापकहरूसँग संवाद गर्न, अनुसन्धानपत्र तयार पार्न र भविष्य निर्माणमा तल्लिन थिए ।
हालसम्म उनले पाँचवटा अनुसन्धान लेख तयार गरिसकेका छन् । तीमध्ये प्रतिष्ठित एपीएस जर्नलमा प्रमुख लेखकका रूपमा रहेको एउटा अनुसन्धान लेख समीक्षा प्रक्रियामा रहेको छ ।
“शीर्ष ५०” विश्वविद्यालयमा पुग्ने उनको सपना र मेहनतले अन्ततः सफलता पायो । उनले साहस गरेर फ्लोरिडा राज्यका दुईवटा उत्कृष्ट विश्वविद्यालयमा मात्र आवेदन दिए । धेरैले त्यसलाई जोखिमपूर्ण निर्णय माने, तर उनलाई आफ्ना सपनाप्रति पूर्ण विश्वास थियो ।
फेब्रुअरी महिनामा उनले ती दुवै विश्वविद्यालयबाट शतप्रतिशत छात्रवृत्तिसहित पूर्ण आर्थिक सहयोगसहितको विद्यावारिधि अध्ययन प्रस्ताव प्राप्त गरे । त्यसपछि अमेरिकाका आधा दर्जनभन्दा बढी प्रतिष्ठित विश्वविद्यालयबाट पनि प्रस्ताव आउन थाले । पहिलो प्रस्ताव फ्लोरिडा स्टेट विश्वविद्यालयबाट आएको थियो भने अन्तिम प्रस्ताव आयोवा स्टेट विश्वविद्यालयबाट आएको थियो ।
अन्ततः प्रदीपले फ्लोरिडा विश्वविद्यालय रोजे, जुन अमेरिकाका सार्वजनिक विश्वविद्यालयहरूमध्ये उत्कृष्ट पाँचभित्र पर्ने विश्वविद्यालय मानिन्छ । भौतिकशास्त्र विषयमा विद्यावारिधि अध्ययनका लागि पनि यो विश्वविद्यालय अग्रणी मानिन्छ ।
उनको छनोटको कारण केवल विश्वविद्यालयको स्तर निर्धारण थिएन । फ्लोरिडा विश्वविद्यालयसँग विश्वप्रसिद्ध नेशनल हाई म्याग्नेटिक फिल्ड ल्याबोरेटरी (म्यागल्याब) को सहकार्य रहेको छ, जहाँ विश्वका उत्कृष्ट वैज्ञानिकहरूले ब्रह्माण्डका जटिल रहस्यहरूमा अनुसन्धान गर्छन् । अब प्रदीप त्यही संस्थामा बसेर विश्वस्तरीय वैज्ञानिकहरूसँग अत्याधुनिक अनुसन्धानमा संलग्न हुनेछन् ।
भौतिकशास्त्र विभाग र अनुसन्धान समूहका कारण फ्लोरिडा विश्वविद्यालयलाई धेरै विद्यार्थीले “सपनाको गन्तव्य” मान्छन् । प्रदीपले प्राप्त गरेको अवसर केवल एउटा भर्ना पत्र होइन, पूर्ण छात्रवृत्तिसहितको सम्मान हो । यसमा शतप्रतिशत शिक्षण शुल्क, स्वास्थ्य बिमा, मासिक भत्ता र प्रतिष्ठित “उत्कृष्टता फेलोसिप” समेत समावेश छन् ।
अभाव र कठिनाइसँग जुध्दै निरन्तर संघर्ष गरियो भने सफलता अवश्य प्राप्त हुन्छ भन्ने सन्देश प्रदीपको यात्राले स्पष्ट पारेको छ । उनकाे कथा आजका हजारौं युवाका लागि प्रेरणाको स्रोत बनेको छ ।




















प्रतिक्रिया