काठमाडौं । विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर सगरमाथाको ३२ औँ पटक सफल आरोहण गरेका छन् ।
पर्यटन विभागका अनुसार आइतबार बिहान १०:१२ बजे उनी सगरमाथाको शिखरमा पुगेका हुन् । यससँगै उनले सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने आफ्नै विश्व कीर्तिमान पुनः तोडेका छन् ।
सोलुखुम्बुको थामेमा सन् १९७० जनवरी १७ मा जन्मिएका कामी रिताले लामो अनुभव, साहस र समर्पणमार्फत नेपालको पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा थप गौरवान्वित बनाएको पर्यटन विभागले जनाएको छ ।
सगरमाथा आधार शिविरमा खटिएका पर्यटन विभागका उपसचिव खिमलाल गौतमले आइतबार नेपालको पर्वतारोहण इतिहासमा दुई महत्वपूर्ण विश्व कीर्तिमान कायम भएको बताएका छन् ।
यसैदिन ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले पनि ११ औँ पटक सगरमाथा आरोहण गर्दै सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने महिला आरोहीको विश्व कीर्तिमान कायम गरेकी छन् ।
संखुवासभाको मकालु-२ मा सन् १९७३ मा जन्मिएकी लाक्पा शेर्पाको यो उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा अर्को गौरवपूर्ण अध्याय थपिएको विभागले जनाएको छ ।
पर्यटन विभागका अनुसार यी ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर अझ सम्मानित, विशिष्ट र आकर्षक बनाउन थप योगदान पुग्ने विश्वास गरिएको छ ।




















प्रतिक्रिया