२९ असार २०८३, सोमबार | July 14, 2026

कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएकाछन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आज आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
“किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गासिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ”,  उनले भने ।
मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै उनले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधारशीलाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । “यसका लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्दछ, किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको छ”, राष्ट्रपति पौडेलले भने ।
उनले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकाय एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याए ।
“युवाशक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउनुपर्छ, यसका लागि कृषकको सम्मान, कृषि पेसाको संरक्षण तथा आधुनिकीकरण आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भने ।
राष्ट्र निर्माणको आधारस्तम्भ तथा राष्ट्रको समृद्धिका सम्वाहक कृषकलाई सम्मान गर्न पाउँदा आफूलाई हर्ष अनुभूति भएको उनको भनाइ थियो ।
साथै, कृृषकको मेहनत, सीप र पौरखले देश समृद्ध बन्छ, यो राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान कार्यक्रमले कृषि पेसालाई सम्मानित पेसाका रूपमा स्थापित गर्न योगदान पुर्‍याएको उनले बताए ।
“कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर क्षेत्रका रूपमा विकास गर्नसके मात्र देश निर्माणको सपना साकार हुने मैले ठानेको छु”, उनले भने ।
पौडेलले राजनीतिक परिवर्तनपछिको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि नै भएको र कृषि, जलस्रोत पर्यटन, पूर्वाधार, सूचनाप्रविधि र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार हो भने ।
राष्ट्रपति पौडेलले बदलिँदो परिवेशमा युवा जनशक्तिलाई नेपालमै रोजगारीको अवसर सृजना गर्ने क्षेत्र भनेकै कृषि भएको र कृषि नै उद्योगको कच्चा पदार्थको स्रोत भएकाले यो क्षेत्रको विकास गर्न राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्दछ भने । उनले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा उद्यम केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रोत्साहान गर्नुपर्नेमा जोड दिए ।
उहाँले सोह्रौं योजनाले निर्दिष्ट गरेको लक्ष्य हासिल गरी देशलाई समृद्धितर्फ अग्रसर बनाउन राज्यले कृषि क्षेत्रको समस्या र चुनौतीको पहिचान गर्नुपर्ने बताए ।
“यसमा लगानीको सुनिश्चितता गर्न सस्तो व्याजदरमा कृषि कर्जाको व्यवस्था गर्न आवश्यक छ, मुलुकमा उत्पादन र रोजगारी वृद्धि गरी आयात घटाउने तथा निर्यात बढाउनेतर्फ सरकार, नीतिनिर्माता तथा योजनाविद् र सरोकारवाला निकायबाट विशेष कार्यक्रम ल्याउन जरुरी छ”, राष्ट्रपति पौडेलले भने ।
विदेशबाट फर्किएका युवालाई उनीहरूले सिकेको सीप प्रयोग गर्नेगरी कृषितर्फ आकर्षित गर्न लगानीमैत्री वातावरण सृजना गर्न सरकार र निजी क्षेत्रले चासो दिनुपर्दछ भन्दै उनले कृषकको उपजको बजारीकरण, समयमानै बीउबिजन र मलको आपूर्ति, कृषकको समस्याको पहिचान र त्यसको व्यवस्थापन, नवीनतम औजार उपकरणको पहिचान र व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आजका जल्दाबल्दा विषय भएको उल्लेख गरे ।
सो अवसरमा राष्ट्रपति पौडेलले देशका विभिन्न  भागका १४ जना कृषकलाई जनही दुई लाख रूपैयाँ, प्रमाणपत्रसहित उत्कृष्ट कृषक पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  २ : ३५ बजे

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस