३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

‘मर्निङ वाक विथ मेयर’ सम्पन्न, युवालाई स्वस्थ जीवनशैली अपनाउन आग्रह



बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा रोट्रयाक्ट युथ आइकन-२०८३ अन्तर्गत आइतबार बिहान ‘मर्निङ वाक विथ मेयर’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, फिजिसियन डा. हरि पन्थी, प्रमुख प्रशिक्षक रमेश अर्याललगायतको सहभागितामा नयाँ बसपार्कदेखि हिलपार्कसम्म पदयात्रा गरिएको थियो ।

युवा पुस्तालाई स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष आविष्कार खनालले जानकारी दिए । पदयात्राका क्रममा सहभागीहरूले नगरप्रमुख तथा चिकित्सकसँग स्वास्थ्य, जीवनशैली र समसामयिक विषयमा जिज्ञासा राख्ने अवसर पाएका थिए ।

नगरप्रमुख पाण्डेयले हिलपार्क बिहानको पदयात्राका लागि उपयुक्त स्थान रहेको उल्लेख गर्दै बुटवलमा हिलपार्कसहित लक्ष्मीनगर, बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस नजिकको मैदान, बेलबास सामुदायिक भवनलगायत १३ स्थानमा मर्निङ वाक तथा योग केन्द्र सञ्चालनमा रहेको बताए । यस्ता कार्यक्रमले नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

पछिल्लो समय बुटवल क्षेत्रमा क्यान्सर, मिर्गौला फेललगायत नसर्ने रोगका बिरामी बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता रोग लाग्नुभन्दा पहिले नै सचेत रहन आवश्यक रहेको बताए ।

‘बिहान एक घण्टाको अभ्यासले स्वास्थ्यमा ठूलो सुधार ल्याउन सक्छ । अस्पतालमा नियमित औषधि खाने कि बिहान उठेर केही समय हिँडेर स्वस्थ जीवनशैली अपनाउने भन्ने कुरा आफ्नै निर्णय हो,’ उनले भने ।

फिजिसियन डा. हरि पन्थीले मर्निङ वाक सबै उमेर समूहका लागि उपयुक्त व्यायाम भएको बताउँदै नियमित शारीरिक गतिविधिले नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने बताए । उनका अनुसार नेपालमा पहिले झाडापखाला, ज्वरो र मलेरियाजस्ता सरुवा रोगबाट मृत्यु हुने क्रम बढी भए पनि अहिले नसर्ने रोगका कारण मृत्यु दर बढ्दै गएको छ ।

‘दैनिक कम्तीमा ३० मिनेट वा हप्तामा १५० मिनेट मुटुको धड्कन बढ्ने गरी हिँड्दा मस्तिष्कघात र हृदयाघातको जोखिम १० देखि १५ प्रतिशतसम्म घटाउन सकिन्छ । साथै मधुमेह र उच्च रक्तचापका बिरामीलाई पनि यसले ठूलो फाइदा पुर्‍याउँछ,’ उनले भने ।

प्रमुख प्रशिक्षक रमेश अर्यालले नियमित व्यायामलाई दैनिक जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा जोड दिँदै स्वस्थ जीवनका लागि मर्निङ वाक प्रभावकारी अभ्यास भएको बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष बाबुराम बन्जाडे, पूर्वअध्यक्ष जीवनप्रसाद अधिकारी, बालकृष्ण पाण्डेलगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

रोट्रयाक्ट युथ आइकन-२०८३ अन्तर्गत पहिलो चरणको अडिसनबाट २० जना प्रतियोगी छनोट भइसकेका छन्। तीमध्येबाट उत्कृष्ट पाँच जना फाइनल चरणका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको फाइनल आगामी जेठ ३० गते आयोजना हुनेछ । विजेताले २० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् । विभिन्न विधामा उत्कृष्ट हुने प्रतियोगीलाई पनि पुरस्कृत गरिने क्लबका सचिव केशव पौडेलले जानकारी दिए ।

कार्यक्रमपश्चात दीप बोर्डिङ स्कुलमा दिनभर प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो । उक्त सत्रमा राजेन्द्र लम्साल, रमेश अर्याललगायतले प्रतियोगीहरूलाई विभिन्न विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ८ : १० बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क